चितवन । चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ । चितवनको भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको पिसिआर विधिबाट स्वाब परीक्षणको क्रममा सोमबार दुई जना चिकित्सक र एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
एक जना चिकित्सक चितवनको नारायणी सामुदायिक हस्पिटल र नर्स मनाकामना अस्पतालमा कार्यरत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अन्य जिल्लामा कार्यरत अर्का चिकित्सकले भने भरतपुर अस्पतालबाट स्वाब संकलन गराएको भए पनि अहिले उनी काठमाडौं रहेको पाईएको भरतपुर अस्पतालले जनाएको छ ।
शुक्रवार र शनिवार संकलन गरिएको नमुना परीक्षणमा स्वास्थ्यकर्मी सहित सोमबार चितवनमा ३० जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । जसमध्ये २४ जना चितवनका , ५ जना नवलपुर र एक जना धादिङका रहेको बताईएको छ । स्वास्थ्यकर्मीमा नै संक्रमण देखिए सँगै चितवनमा थप सतर्कता अपनाईएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । परीक्षणको दायरा बढाए सँगै संक्रमितको संख्या समेत बढन् सक्ने अनुमान समेत गर्न थालिएको छ ।
उता जिल्लामा संक्रमितको संख्या वृद्धि भए सँगै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आज मंगलबारबाट लकडाउनमा थप कडाई गरिने बताए ।चितवनमा रहेका संक्रमितहरुको भरतपुर कोराना विशेष अस्थायी अस्पताल र भरतपुर अस्पताल राखेर उपचार गरिदै छ ।




