चितवन । लामो समयको अन्तरालपछि आंशिक रूपमा लकडाउन खुले पनि चितवनका व्यवसायी उत्साहित छैनन् । विगतका दिनमा भन्दा हाल जिल्लाका बजार क्षेत्रमा चहलपहल बढेको छ । तर व्यावसायिक कारोबार नहुँदा उनीहरू निराश बनेका हुन् । जिल्लामा अधिकांश पसल, व्यवसाय आइतवारदेखि खुलेका छन् ।
लामो समयपछि पसल खोले पनि ग्राहकको उपस्थिति नभएको बु्रनाई सुनचाँदी पसल, नारायणगढका सञ्चालक एवं सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइली बताउँछन् । ‘पसलमा कर्मचारी, कालिगढ आएका छन्, ग्राहक त नआउँदा व्यापार छैन ।’ शनिवारबाट आंशिक रूपमा केही व्यवसायीले पसल खोले पनि कारोबार भने नभएको उनले बताए । सार्वजनिक यातायात नचलेसम्म र संक्रमणको त्रास नघटेसम्म अपेक्षित व्यापार नहुने उनको भनाइ छ । नारायणगढको स्टार कलेक्सनका फेन्सी व्यवसायी दया सापकोटा पसल खोले पनि न्यून मात्रामा ग्राहक आएको बताउँछन् । ‘कति मानिसलाई बजार खुल्यो कि खुलेन अझै थाहा छैन,’ उनले भने, ‘पहिलेकै लयमा फर्कन केही समय लाग्ला ।’ उनका अनुसार लामो समयको लकडाउनका कारण ग्राहकहरू आफ्नै निजी काममा व्यस्त हुने र क्रय क्षमतामा समेत ह्रास हुँदा खाद्यान्न बाहेकका सामग्रीको विक्री घटेको हो । सोमवारदेखि सरकारी कार्यालय समेत खुल्ने र चहलपहल बढ्दै जाँदा व्यवसायमा पनि केही सुधार हुने आशा उनको छ ।
सडकहरूमा निजी सवारीसाधन चले पनि जिल्लामा अन्य पसल, शोरूम तथा व्यवसायमा समेत ग्राहक तथा सेवाग्राहीको उपस्थिति छैन । जिल्लामा आइतवारदेखि सबै अटोमोबाइल पसल खुलेका छन् । भरतपुर महानगरपालिका–१० मा रहेको लामिछाने अटोमोबाइल्सका सञ्चालक अर्जुन लामिछाने ग्राहकको फोन आउने गरे पनि उनीहरू पसलमा नआएको बताउँछन् ।




