भिटामिन ‘ए’ हाम्रो शरीरलाई अत्यावश्यक सूक्ष्म पोषक तत्व हो जुन शरीर आफैले बनाउन सक्दैन् । आमाको दुधमा शिशुलाई आवश्यक पर्ने भिटामिन ए प्रशस्त मात्रामा हुन्छ । त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाकाे दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिना पछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ ।
शरीरमा भिटामिन ‘ए’ को काम शरीरले भिटामिन ए लाई कलेजोमा संचित गरेर राखेर आवश्यक अन्य स्थानहरुमा पुर्याउँछ । भिटामिन एले शरीरको छाला र शरीरका विभिन्न अंगको झिल्लीलाई चुस्त दुरुस्त राख्न मद्दत गर्छ । जसमा श्वासप्रश्वास, आन्द्रा आँखा, कान, पिसाब थैली लगायतका झिल्ली पर्दछन् । साथै कम प्रकाशमा आँखाले देख्नको लागि पनि भिटामिन ए अत्यावश्यक हुन्छ । यसका अतिरिक्त शरीरको वृद्धि विकास प्रजनन् शक्ति र रोग प्रतिरोधात्मक शक्तिको विकासका लागि पनि भिटामिन ए जरुरी हुन्छ ।
भिटामिन ए कुन कुन खानेकुरामा पाइन्छ :
भिटामिन ए कुन कुन खानेकुरामा पाइन्छ भन्ने जान्न जरुरी छ । भिटामिन ए प्रसस्त मात्रामा पाइने खानेकुराहरु यसप्रकार रहेका छन् : हरियो सागसब्जी, गाजर, फर्सी, मेवा आँप, कलेजो, अण्डा, दुध आदी । यी खानेकुराहरु धेरैको घरमै उपलब्ध हुने हुनाले आमाबाबुले आफना बालबालिकालाई यी खानेकरा नियमित दिन सकिन्छ । हाम्रा वरिपरि भएका खानेकुरामा नै भिटामिन प्रसस्त मात्रामा पाइने भएपनि कहिलेकाहीं खानेकुराको अभाव, चेतनाको अभाव वा खाने तरिका नमिल्दा पनि बालबालिकामा भिटामिन ए को कमी हुनसक्छ । त्यसैले यस्तो अवस्थाका लागि भिटामिन ए क्याप्सुलका रुपमा दिने गरिन्छ ।
भिटामिन ‘ए’ को कमीले हुने रोगहरु:
शरीरमा भिटामिन ‘ए’ को कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन् । जस्तै आँखाको नानीको सुख्खापन, रतन्धो, छालाको सुख्खापन रअन्य समस्या, हड्डीको विकासमा कमी, रोगसँग लड्ने क्षमतामा कमी, बारम्बार र कडा किसिमको निमोनिया हुनु एवं झाडापखाला लागिरहनु आदी ।
भिटामिन ‘ए’ को कमी ५ वर्ष मुनिका बालबालिकाहरुमा किन बढी हुन्छ ?
हुन त भिटामिन एको कमी कुनै पनि उमेर समूहका मानिसलाई हुनसक्छ तर विभिन्न अध्ययनले विकासेन्मुख देशमा ३० देखि ५० प्रतिशतसम्म ५ वर्ष मूनिका बालबालिकामा भिटामिन ए को कमी भएको पाइएको छ । आमाको दुध मात्रै खाने बच्चाको अन्य खानेकुराको शुरुवात हुनु, यस उमेरमा छिटो छिटो शारीरिक विकास हुनु र बारम्बार श्वासप्रश्वास र आन्द्राको संक्रमण हुने कारणले ५ वर्ष मुनिका बालबालिकाहरूमा भिटामिन ए को कमी र यसले गर्दा हुने मृत्युदर बढी हुने गरेको पाइएको छ ।
कोभिड–१९ र भिटामिन ‘ए’
कोभिड –१९ को महामारीको समयमा देशका विभिन्न स्थानमा केही समय खोप सेवा प्रभावित बन्न पुगेकाे थियो । सोही कारणले गत वैशाख ६ र ७ गते तय भएको भिटामिन ए खुवाउने कार्यक्रम पनि स्थगित गरिएको थियो । यसैबिच देशका विभिन्न स्थानमा दादुरा जस्तारोगको प्रकोप बढेको पाइएको छ । भिटामिन ए आफैले कोभिड १९ विरुद्ध प्रभावकारी भएको हालसम्म प्रमाणित नभए पनि कोभिड १९ ले कुपोषण एवं रोगसँग लड्ने क्षमता कम भएकालाई बढी हानी गर्ने हुनाले कोभिड १९ को समयमा भिटामिन ए को महत्व अझ बढी हुन्छ । तसर्थ यही असार २२ र २३ गते देशभरका ५ देखि ५९ महिनाका बालिबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको राष्ट्रिय कार्यक्रममा सहभागी भएर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऔं ।
(लेखक डा. पाठक भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ एवं नवजात शिशु तथा अति सघन उपचारकक्ष विशेषज्ञ हुन्)




