काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ ।
योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो ।
यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८ सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् ।
देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।




