चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ बाट सम्मानित गरेको छ । सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा संविधान दिवसको अवसर पारेर बोर्डमा आयोजित समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर, अभिनेत्री मिथिला शर्मा, निर्देशक दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समिति सम्मानित भएका हुन् ।
ठुलो पर्दामार्फत दर्शकलाई सुसूचित गर्न आग्रह गर्दै मन्त्री शर्माले समाजलाई सही गतिमा डोर्याउन चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले अहिलेको अवस्था ल्याउन परिवर्तनकारी भूमिका निर्वाह गर्नेलाई सम्मान गरेको जिकिर गरिन् । बोर्डले आगामी दिनमा पनि नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने कार्यक्रमलाई बढवा दिने बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताए ।




