प्रेमनाथ पौडेल, महोत्तरी । महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा ब्यवसायिक शुरुवात तथा ब्यवसाय प्रवद्र्धनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। एकीकृत ग्रामीण विकास समाज, महोत्तरीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत आयोजना गरिएको तालिम व्यवसाय गर्न इच्छुक तथा व्यवसाय सञ्चालन गरिरहेका लाभग्राहीहरूलाई लक्षित गरिएको हो।
संस्थाका कार्यक्रम व्यवस्थापक कुमार भण्डारीका अनुसार तालिमको उद्देश्य अति विपन्न घरधुरीहरूलाई व्यवसाय प्रारम्भ तथा विस्तारका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको छ।
संस्थाका कोषाध्यक्ष उमेश न्यौपानेले जानकारी दिएअनुसार परियोजनाले एकडारामा ४०४ र सम्सीमा १७६ जना लाभग्राहीलाई किराना, खाजा, चिया, कस्मेटिक्स, फलफूल आदि साना व्यवसायका लागि सहयोग गरेको थियो। यिनै लाभग्राहीहरूको व्यवसाय दिगो बनाउन तालिमको आयोजना गरिएको संस्था ले जनाएको छ ।
व्यवसाय अवधारणा, अवसर पहिचान, बजारिकरण, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन लगायतका विषयमा सहभागीहरूको सीप अभिवृद्धि गरिने तालिममा, एकडारामा १४ समूह र सम्सीमा ६ समूहमा तालिम संचालन गरिएको थियो।
तालिमको सहजीकरण बिनोद कुमार दास र थरिन्द्र नेपालले गर्नुभएको थियो भने घरेलु तथा साना उद्योग विकास समिति, महोत्तरीका ज्ञानेन्द्र ठाकुर र उद्यम विकास सहायक विमलेश पण्डित समेत तालिममा सहजीकरणमा सहभागी हुनुभएको थियो।
सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेको बताएका छन्। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सीप अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




