प्रेमनाथ पौडेल, बर्दिबास महोत्तरी । मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई सिँचाइ र खानेपानीमा सहयोग गर्न प्रदेश सरकारले गरेको आग्रहअनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालले प्रभावित जिल्लाहरूमा सहायता विस्तार गरेको छ।
संस्थाले आफ्नो साझेदार संस्था ग्रामीण विकास समाजमार्फत महोत्तरीको एकडारा गाउँपालिकाका १८ र सम्सी गाउँपालिकाका ३२ घरधुरीलाई लक्षित गरी साना सिँचाइ सहयोग कार्यक्रम सुरु गरेको हो। सो कार्यक्रम विपन्न वर्गका कृषकहरूलाई प्राथमिकता दिई संचालन गरिएको वर्ल्ड भिजन मधेश प्रदेशका प्रमुख विनय अमात्यले जानकारी दिए।
यसैक्रममा, सर्लाहीको हरिपुर्वा नगरपालिकामा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा ५० घरधुरीमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, रौतहटको माधवनारायण नगरपालिकामा ४७ घरधुरीमा सिँचाइ सहयोग कार्यक्रम सम्पन्न भइसकेको अमात्यले बताए।
खानेपानी सुविधाको सन्दर्भमा अमात्यका अनुसार हालसम्म सर्लाहीको हरिपुर्वामा ९३, पर्सामा ४२, महोत्तरीको एकडारामा ५५ र सम्सी गाउँपालिकामा ३१४ वटा चापाकल जडान गरिसकिएको छ। खानेपानीको अत्यावश्यकता रहेका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी तत्काल सेवा प्रवाह भइरहेको उनले जनाए।

वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानहरूमा खानेपानी र सिँचाइसम्बन्धी तत्काल तथा दीर्घकालीन समाधानका लागि स्थानीय तहसँग सहकार्य गर्दै कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जनाएको छ। साथै आगामी दिनमा थप कार्यक्रमहरू पनि विस्तार गर्दै लैजाने योजना रहेको अमात्यले स्पष्ट पारे।




