प्रेमनाथ पौडेल, सर्लाही । नेपाल सरकारले संचालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा निरन्तर रूपमा बिमा नवीकरण गर्ने बिमितहरूलाई नवीकरण शुल्कमा १० देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।
स्वास्थ्य बिमा बोर्ड ले हालै जारी गरेको संशोधित निर्देशिका अनुसार, स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुर्याउने र कार्यक्रमलाई दीगो तथा स्थायी बनाउने उद्देश्यले छुट दिने निर्णय गरिएको हो।
स्वास्थ्य बिमा बोर्ड, सर्लाही जिल्ला सम्पर्क कार्यालयकी प्रमुख टिका बिष्ट का अनुसार, बिमितले आफ्नो बिमा नियमित रूपमा नवीकरण गरेमा तीन वर्षको निरन्तर नवीकरणमा १०%, चारदेखि सात वर्षसम्ममा २०%, र सात वर्षभन्दा माथि निरन्तर नवीकरण गरेमा ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
“हाम्रो अठोट: स्वास्थ्यमा सबैको पहुँच” भन्ने नारासहित सुरु गरिएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात सन् २०७२ चैत्र २५ गते कैलाली, बागलुङ र इलाम जिल्लाबाट भएको हो। २०७४ सालमा स्वास्थ्य बिमा ऐन पारित भई २०७७ चैत्र २५ गतेदेखि देशका ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गरिएको थियो।
सर्लाही जिल्लामा पनि २०७७ चैत्र २५ देखि नै २० वटै स्थानीय तहका सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर बिमा दर्ता कार्य सुरु गरिएको छ।
🔹 शुल्क र लाभ
एक परिवारको १–५ जना सदस्यसम्मको लागि रु. ३५००
थप सदस्य भएमा प्रति सदस्य रु. ७०० थप शुल्क
🔹 स्वास्थ्य बिमा लाभ
बिमितले प्रति वर्ष प्रति सदस्य रु. २०,००० सम्म उपचार सुविधा पाउँछन्।
५ जना सदस्य भएको परिवारले रु. १,००,००० सम्मको सेवा लिन सक्छ।
८ प्रकारका जटिल रोगका लागि बिमितले रु. २,००,००० सम्म सेवा लिन सक्छन्।
🔹 विशेष छुट सुविधा
स्वास्थ्य बिमा बोर्डले सामाजिक न्याय र समावेशी स्वास्थ्य सुनिश्चित गर्नका लागि केही समूहहरूलाई विशेष छुट दिएको छ:
लाभ समूह छुट दर
७० वर्ष पुगेका नागरिकहरू १००% छुट
पूर्ण अपाङ्गता भएका व्यक्ति १००% छुट
कुष्ठ रोग प्रभावित, एचआईभी संक्रमित १००% छुट
कालो टिबी (एमडिआर) भएका बिरामी १००% छुट
राज्यले तोकेको अति विपन्न वर्ग १००% छुट
महिला स्वास्थ्य स्वयंसेविक्स ५०% छुट
स्वास्थ्य बिमा बोर्डले जनताको स्वास्थ्यलाई प्राथमिकता दिँदै सबै नागरिकलाई कार्यक्रम अन्तर्गत ल्याउने प्रयास गरिरहेको जनाएको छ।




