साउन सर्लाही । सर्लाहीमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । बिहान घाम जूल्केदेखी नै तातो हावा चल्ने हुनाले जनजीवन प्रभावित भएको हो । दिउँसो पश्चिमा तातो वायुले घरबाहिर अनुहार पोल्ने भएकोले सर्वसाधारण दिउँसो घरबाट बाहिर निस्कन पनि डराउन थालेका छन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन थालेपछि यसको असर अन्य क्षेत्रमा पनि परेको देखिएको छ ।
यहाँ विगत केहिदिन देखि यसरी असाध्य बढी गर्मी महसुस भइरहेको हो । अघिल्ला दिनहरूमा पनि गर्मी हुने गरेकोमा र हिजो आज गर्मी खप्नै गाह्रो परिरहेको सर्वसाधारण बताउँछन् ।
बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था छैन । गर्मीले मानिस असिनपसिन भएर बसेका छन् । दिउँसो सार्वजनिक यातायातहरू ई रिक्सा, बस तथा म्याजिक जिपमा यात्रा गर्नेको सङ्ख्या कम भएको यातायात व्यवसायीहरू बताउछन् ।
यसै गरी साइकल तथा मोटरसाइकल चढ्नेको सङ्ख्या पनि कम भएको देखिएको छ । अत्यधिक गर्मीले गर्दा दिउँसो घरबाट बाहिर निस्कन गाह्रो भएको स्थानीय मदन महतोले बताए । यो वर्ष जमिन भिज्ने गरी बेस्सरी वर्षा नै हुन नसकेकाले असाध्य गर्मी महसुस भइरहेको सर्वसाधारण बताउँछन् । अहिले शित्तलताको खोजीमा भौतारिनुपर्ने अवस्था छ । यो गर्मीमा घरबाहिर निस्कनुपर्ने किसान तथा मजदुर, विद्यार्थीलगायत झन् बढी प्रभावित बनिरहेका छन् । जिल्लामा पानी पर्दा एक÷दुई दिन शीतल भए पनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढ्ने गर्छ ।
गर्मीले मानिस बिरामी नै पर्ने अवस्था छ । चिकित्सकले यो बेला प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिका र सुत्केरीलाई सकेसम्म घरभित्रै बस्न लालबन्दि मोडल अस्पतालका डा. आलोक कूमार कूशबाहले सुझाव दिएका छन् । आवश्यक नभई सर्वसाधारण बाहिर ननिस्कँदा बजार सूनसान बनेको छ ।
अत्यधिक गर्मी बढ्दा व्यापार तथा व्यवसायमा पनि प्रभाव परेको छ । दिउँसो गर्मी हुने हुँदा गाउँबाट बजार पुग्ने मानिसको सख्या निरन्तर कम भएको उद्योगी व्यवसायीले बताएका छन् ।
गर्मी बढ्दा हल्का पेय पदार्थ र चिसोको बिक्री बढेको पाइएको छ । अत्यधिक गर्मी बढेसँगै साधारण चिसो पेय पदार्थको बेपारमा वृद्धि भएको व्यावसायीहरूले बताएका छन् । तराई मधेशमा पछिल्ला वर्षहरूमा वन विनाश, अवैध उत्खनन र मनपरी बढेमानका संरचना निर्माण गर्दा गर्मी बढेको तर्क बुढापाकाहरूले गर्ने गरेका छन् । झुरुप्प बस्ती भएका ठाउँहरूमा झन् बढी गर्मी छ ।




