प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–७ हजरिया रोडस्थित ह्याप्पी मेडिकेयर हस्पिटलमा कुकुरले टोकेको बालकको उपचारमा गम्भीर लापरबाही भएको आरोप बालकका अभिभावकले लगाएका छन्।

बरहथवा नगरपालिका–१० कटानी निवासी सुरत रामका ८ वर्षीय छोरा रितेश रामलाई बिहीबार बिहान आफ्नै घर अगाडि कुकुरले टोकेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई बरहथवा नगर अस्पताल लगिएकोमा त्यहाँ डाक्टर र रेबिजविरुद्धको औषधि नभएको भन्दै उपचार अस्वीकार गरिएको अभिभावक सुरत रामले बताए। नगर अस्पतालकै सुझावमा परिवारले पछि रितेशलाई ह्याप्पी मेडिकेयर हस्पिटलमा पुर्याएको थियो।
अभिभावकको भनाइ अनुसार, सो अस्पतालका बालरोग विशेषज्ञ डा. सुनिल यादवले कुकुरले टोकेको घाउ सफा गरी टाँका लगाइदिएका थिए। चिकित्सकीय मान्यता अनुसार यस्तो घाउमा टाँका लगाउन नहुने भए पनि अस्पतालले नियम विपरीत कार्य गरेको आरोप छ। साथै, ब्लड टेस्ट नगरी नै रिपोर्ट तयार गरिएको अभिभावकको गुनासो छ।
अस्पतालले उपचारका लागि ८ हजार ८० रुपैयाँ बिल बनाए पनि प्रारम्भमा ७ हजार ५ सय तिर्दा बिल नदिएको र भोलिपल्ट थप १ हजार बुझाएपछि मात्र बिल उपलब्ध गराएको अभिभावक सुरत रामले बताए।
बालकको अवस्था गम्भीर बन्दै गएपछि उनलाई जनकपुर रेफर गरिएको थियो। तर त्यहाँ पनि उपचार सम्भव नभएपछि पुनः बरहथवा फर्काइएकामा अहिले अवस्था जटिल बन्दै गएपछि काठमाडौं लैजानुपर्ने स्थिति आएको परिवारले जनाएको छ।
“हामी गरीब र दलित भएकै कारण कसैले हाम्रो आवाज सुन्ने मान्छे छैन,” भन्दै पीडित रितेशका पिता सुरत राम आँसु झार्दै मिडियामा गुनासो पोखेका छन्। उनले सम्बन्धित निकायसँग अस्पतालको लापरबाही र अत्यधिक शुल्क असुलीबारे छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
उता, डा. सुनिल यादवले भने, “हाम्रो अस्पतालमा रेबिजविरुद्धको इम्युनोग्लोबिन खोप उपलब्ध नभएकाले बालकको रगत रोकथामका लागि अस्थायी रूपमा टाँका लगाइएको हो। हामीले अन्यत्र उपचार गर्न सुझाव दिएका थियौं।”
बिल सम्बन्धमा उनले अस्पतालको नियमअनुसार शुल्क लिइएको र मनपरी असुलीको आरोप निराधार रहेको बताए।




