सर्लाही । बाराको सिमर क्षेत्रमा फेरि तनाव चर्किएपछि स्थानीय प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ। युवा संघ र जेन–जी समूहबीच भइरहेका झडप, तोडफोड तथा लगातारको प्रदर्शनका कारण सुरक्षा अवस्थामा गम्भीर चुनौती सिर्जना भएपछि कर्फ्यू पुनः लागू गरिएको हो।
बुधबारको झडपपछि केही समयमात्र शान्त देखिएको क्षेत्र पुनः अस्थिर बनेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले संवेदनशील क्षेत्रहरूलाई लक्षित गर्दै कर्फ्यू जारी गर्न आदेश दिएका हुन्। कर्फ्यू आज दिउँसो १ बजेबाट राति ८ बजेसम्म लागू हुनेछ। आदेशसँगै पथलैया, सिमरा चोक, परवानीपुर र औद्योगिक करिडोर क्षेत्रभरि प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा तैनाथी गरिएको छ।
जेन–जी समूहको उग्र प्रदर्शन र बाटो अबरुद्ध गर्ने गतिविधि नथाकिएपछि प्रशासनले दिनभर केही घण्टाका लागि कर्फ्यू हटाए पनि साँझपख पुनः हिंसा दोहोरिन सक्ने आकस्मिक सूचनाका आधारमा कर्फ्यू थप कडा बनाएको छ।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन थप बल खटाइएको छ र सम्भावित भिडन्त रोक्न महत्वपूर्ण चौक–चोक तथा संवेदनशील स्थानमा सुरक्षा घेरा कडाइ गरिएको छ।





