प्रेमनाथ पौडेल, सर्लाही । हरेक वर्ष नोभेम्बर २५देखि डिसेम्बर १०सम्म विश्वव्यापी रूपमा मनाइने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान २०२५ हरिवनमा बागमती सेवा समाजले टोल विकास संस्थाहरूको सहकार्यमा औपचारिक रूपमा सुरु गरेको छ। हाम्रो शहर परियोजना अन्तर्गत हेल्भेटास नेपालको आर्थिक तथा काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा सञ्चालित अभियानको शुभारम्भ हरिवन–११ स्थित प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष ढाका कुमारी कार्कीको अध्यक्षतामा गरिएको हो।
“डिजिटल माध्यमबाट हुने हिंसा बन्द गरौँ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त गरौँ” भन्ने राष्ट्रिय मूल नाराका साथ सुरु भएको कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा विरुद्धका सन्देशसहित प्लेकार्ड बोकेर नगर परिक्रमा गर्दै र्याली निकालिएको थियो। सहभागीहरूले “अब कुनै पनि प्रकारको लैङ्गिक हिंसा नगर्ने” प्रतिज्ञासहित हस्ताक्षर अभियानमा सहभागिता जनाएका थिए।
कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, बागमती सेवा समाजका प्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, भद्रभलादमी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। बागमती सेवा समाजकी सामाजिक परिचालक बिधा पौडेलले अभियानको उद्देश्य, महत्व र समुदायमा आवश्यक पर्ने सचेतनात्मक प्रयासबारे जानकारी गराइन्।
लैङ्गिक हिंसा अन्त्यको सुरुवात घर–परिवार र स्थानीय समुदायबाटै हुनुपर्नेमा सहभागीहरूले एकमत व्यक्त गरे। कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले लैङ्गिक हिंसा न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विस्तृत जानकारी प्रस्तुत गरे।
बक्ताहरूले लैङ्गिक हिंसाका कारण प्रतिवर्ष देशभर सयौँ महिलाले अकालमै ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै, हिंसा उन्मूलनका लागि राज्यले कडा कानुन कार्यान्वयन गर्दै दण्डहीनता अन्त्य गर्नुपर्नेमा जोड दिए।

बागमती सेवा समाजले आगामी दिनहरूमा समेत सचेतना कार्यक्रम, समुदायगत संवाद र अभियानसहितका गतिविधि निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिएको छ।




