प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा रेबिज रोगको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले ६५ वटा छाडा तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ।
हरिवन नगरपालिकाले एनिमल केयर सेन्टर काठमाडौंसँग समन्वय गरी नगरका विभिन्न ठाउँमा रहेका छाडा कुकुरलाई संकलन गरी बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको हो।
हरिवन–१० सुखेपोखरीस्थित ताइवनमा रहेको पशु सेवा केन्द्रमा भाले तथा पोथी गरी ६५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिएको नगरपालिका पशु सेवा शाखाका प्रमुख एवं पशु चिकित्सक डा. महेशकुमार श्रेष्ठले जानकारी दिए।
यस कार्यमा डा. श्रेष्ठसहित एनिमल केयर सेन्टरबाट आएका पशु चिकित्सक डा. विकास श्रेष्ठ, डा. सुनिल थापा तथा अन्य प्राविधिकहरू संलग्न रहेका थिए।
१०० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यअनुसार भोली थप एक दिन रेबिज निवारण भ्याक्सिन तथा बन्ध्याकरण शिविर सञ्चालन गरिने डा. श्रेष्ठले बताए।

नगर प्रमुख रमेश बुढाथोकी (कमल) का अनुसार नगरभित्र पहिलोपटक यति व्यवस्थित रूपमा कुकुर संकलन गरी बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो। उनले मधेश प्रदेशमै यस्तो कार्यक्रम सञ्चालन गर्ने पहिलो नगरपालिका हरिवन हुनसक्ने दाबी गरे।

नेपाल सरकारले सन् २०३० भित्र देशभर रेबिज समाप्त गर्ने लक्ष्य राखेका कारण यो शिविर रोग रोकथाम तथा नियन्त्रणमा प्रभावकारी हुने नगर प्रमुख बुढाथोकीले विश्वास व्यक्त गरे ।




