जेष्ठ २,अत्रौली, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौलीमा एक स्थानीयको घरमा चार लाख पचास हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।
अत्रौली आमटोल निवासी बाबुलाल महतोको घरमा शुक्रबार राति घरमा कोही नभएको मौका पारेर चोरी भएको प्रहरीले जनाएको छ। चोरहरूले घरको पछाडिपट्टि दुई स्थानमा भित्तामुनिको जमिन खनेर घरभित्र प्रवेश गरेका थिए।
घरधनी बाबुलाल महतोकी श्रीमती सुनिता देवी महतोका अनुसार चोरहरूले घरभित्र रहेको एक तोला सुन, १२ तोला चाँदी, काँसका भाडावर्तन, लत्ताकपडा तथा नगद पाँच हजार रुपैयाँ चोरी गरेका छन्। चोरी भएका सामग्रीको कुल मूल्य चार लाख पचास हजार रुपैयाँभन्दा बढी रहेको पीडित परिवारले जनाएको छ।

पीडित परिवारले चोरीमा स्थानीय रूपमा घरको अवस्थाबारे जानकारी भएका व्यक्तिको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। घरमा कोही नभएको समय पारेर योजनाबद्ध रूपमा भित्तामुनि खनेर घरभित्र प्रवेश गरिएको भन्दै दोषीको खोजी गरी कारबाही गर्न माग गरिएको छ।

पीडित परिवारले आवश्यक कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय हरिवन मा निवेदन दिएको जनाएको छ। निवेदन प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय हरिवन का प्रहरी टोलि घटनास्थल पुगेर वडा कार्यालयका जनप्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा मुचुल्का उठाई अनुसन्धान सुरु गरेको प्रहरी ले बताइएको छ।

उता, विगतमा कहिल्यै चोरीका घटना नभएको उक्त क्षेत्रमा चोरी भएपछि स्थानीयवासीमा त्रास बढेको छ। समाजमा चोरी तथा डकैतीका घटना बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले शान्ति सुरक्षाका लागि प्रहरीले राजमार्ग र बजार क्षेत्रमा मात्रै नभई भित्री ग्रामीण बस्तीहरूमा समेत नियमित गस्ती तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।




