हरिवन, सर्लाही । सर्लाहीको हरिवनमा विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
बागमती सेवा समाज नेपाल को आयोजना तथा हरिवन नगरपालिका को समन्वयमा सञ्चालन गरिएको उक्त तालिम काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग तथा हेल्भेटास नेपाल को आर्थिक सहयोगमा सम्पन्न भएको हो । “हाम्रो शहर परियोजना” अन्तर्गत सञ्चालन गरिएको तालिम हरिवन–९ नयाँरोडस्थित होटल होलिडे ईनको सभाहलमा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन गरिएको हो।
तालिमको अध्यक्षता हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलान ले गर्नुभएको थियो भने वडा नं. ८ का वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक प्रज्वल ढुंगाना को विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा परियोजना संयोजक रजनिश कुमार सिंह ले बागमती सेवा समाज नेपालले गर्दै आएको काम तथा उदीयमान शहरी क्षेत्रहरूमा दिगो, समावेशी र एकीकृत विकास, विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण प्रवर्द्धन गर्ने परियोजनाको उद्देश्यबारे जानकारी गराएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको तालिमको पहिलो दिन वडा नं. ८ र दोस्रो दिन वडा नं. ११ का टोल विकास संस्था, वडा स्तरीय विपद् व्यवस्थापन समिति, सडक सुरक्षा क्लबका सदस्य तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
तालिममा प्रशिक्षक पुस्करमणी घिमिरे ले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका आधारभूत अवधारणा, बाढी, आगलागी र भूकम्पजस्ता सम्भावित प्रकोपहरूको पहिचान तथा समुदायस्तरमा अपनाउन सकिने आपतकालीन पूर्वतयारीका उपायबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।

यसका साथै जलवायु परिवर्तनका कारण स्थानीय कृषि तथा जनजीवनमा परेको असर र त्यसबाट जोगिन अपनाउनुपर्ने जलवायु अनुकूलन रणनीतिबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो। वातावरण संरक्षणअन्तर्गत फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो विकासका अभ्यासहरूलाई विशेष प्राथमिकता दिइएको थियो।

विपद्को समयमा समुदायमा आधारित विपद् व्यवस्थापन प्रणाली र प्रारम्भिक सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजक सस्था बागमती सेवा समाज कि समाज रुपान्तरण सहजकर्ता बिद्या पौडेल ले बताईन ।
कार्यक्रमको उद्घाटन तथा समापन गर्दै उप–प्रमुख हरिमाया घलानले समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन अभ्यासलाई सुदृढ बनाउन यस्ता तालिम अत्यन्त आवश्यक र प्रभावकारी रहेको बताउनुभयो। उहाँले स्थानीय सरकार यस क्षेत्रमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिताबाट मात्रै सुरक्षित, उत्थानशील र दिगो नगर निर्माण सम्भव हुने धारणा राख्नुभयो।

वडा नं. ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन तथा वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै समुदायस्तरमा सचेतना र पूर्वतयारी बढाउन यस्ता तालिम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले टोल विकास संस्थालाई आवश्यक सहयोग गर्न वडा कार्यालय सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा ले विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण वर्तमान समयको टड्कारो आवश्यकता भएको बताउँदै तालिमले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो।
दुई दिने सम्म चलेको तालिममा वडा नं. ८ र ११ का वडा स्तरीय विपद् व्यवस्थापन समिति, टोल विकास समिति, कृषि सहकारी, रोड सेफ्टी क्लब तथा शिक्षकहरूको सहभागिता रहेको समाज कि अर्कि सहजकर्ता पुनम भट्टराईले बताईन ।




