सर्लाही । बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ ।रौतहट र सिन्धुली जिल्लाको सीमा क्षेत्रमा पर्ने झपसी झोलुङ्गे पुल नजिक बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ । साथीहरूसँग घुम्न गएका उनीहरू नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत जेठ ९ गते साँझ करिब ४ बजे पाँच जना साथीहरू बिना जानकारी बागमती नदी क्षेत्रमा घुम्न गएका थिए ।
सोही क्रममा नदी पार गर्ने प्रयास गर्दा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तिपुर निवासी १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो तीव्र बहावमा फसेर बेपत्ता भएका थिए । घटनाबारे सूचना पाएपछि राति नै इलाका प्रहरि कायालय हरिबनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक रोशन लामिछानेको नेतृत्वमा ५ जना गरी १२ जनाको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेको हरिबन प्रहरिले जनायको छ ।
शनिबार साँझपख सर्लाही र रौतहटतर्फका प्रहरीले खोजी गरे पनि आइतबार बिहान ९ बजेसम्म गोताखोरसहितको प्रहरी परिचालन हुन नसकेको आइतबारे बिहानैदेखि गोताखोर परिचालन खोजतलासका क्रममा जेठ १० गते बिहान रोहित महतोको शव बागमती नगरपालिका–११ स्थित पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ फेला परेको थियो । त्यसैगरी दिउँसो करिब १ः३० बजे गणेश महतोको शव पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ ड्याम साइड क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले बताए ।
दुवै शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । अन्य तीन जना साथी भने सकुशल रहेका छन् । नदीमा पानीको बहाव तीव्र रहेकाले सर्लाही प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ ।





