हरिवन, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “जलवायु उत्थानशील, वातावरणमैत्री तथा दिगो कृषि अभ्यास” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
सर्लाहीको नयाँरोडस्थित होटल होलिडे इनमा आयोजना गरिएको उक्त तालिम बागमती सेवा समाज नेपालको आयोजना, हेल्भेटास नेपालको आर्थिक सहयोग तथा काठमाडौँ विश्वविद्यालयको ज्ञान तथा प्राविधिक सहयोगमा सञ्चालित “हाम्रो शहर परियोजना” अन्तर्गत सम्पन्न गरिएको हो।
बागमती सेवा समाज नेपालले विगत तीन दशकभन्दा लामो समयदेखि सर्लाहीसहित देशका विभिन्न जिल्लामा सामाजिक तथा दिगो विकासका क्षेत्रमा काम गर्दै आएको छ। परियोजनाअन्तर्गत हरिवन नगरपालिका वडा नं. ८ र ११ मा टोल विकास संस्था गठन गरी नागरिक सचेतना, सुशासन, भौतिक पूर्वाधार तथा सीप विकासका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
किसानहरूको क्षमता विकास गर्ने उद्देश्यले शनिबार र आइतबार सञ्चालन गरिएको तालिम हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ‘कमल’को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँल तथा बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक रामकृष्ण रायको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रम सञ्चालन गर्दै “हाम्रो शहर परियोजना” का कार्यक्रम संयोजक राजनिश कुमार सिंहले परियोजनाको उद्देश्य र तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागी कृषकहरूलाई जलवायु परिवर्तन र यसको कृषिमा परेको प्रभाव, जलवायु सहनशील कृषि अभ्यास, प्रभावकारी पानी व्यवस्थापन प्रविधि (थोपा तथा फोहोरा सिँचाइ, आकाशे पानी संकलन), माटो संरक्षण, एकीकृत कीरा तथा रोग व्यवस्थापन तथा उत्पादनपछिको व्यवस्थापन लगायतका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश बुढाथोकीले जलवायु उत्थानशील कृषि प्रवर्द्धनमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै सहभागी किसानहरूले सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो। साथै यस्ता कार्यक्रमलाई नगरपालिकाको तर्फबाट निरन्तर सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको समाज रूपान्तरण सहजकर्ता बिद्या पौडेलले जानकारी दिनुभयो।

यस तालिमले कृषकहरूको उत्पादकत्व वृद्धि गर्न, बदलिँदो जलवायुमा अनुकूलन क्षमता सुदृढ बनाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न तथा ग्रामीण–सहरी बजार सम्पर्क विस्तार गर्दै दिगो स्थानीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण कृषि तथा वातावरण विज्ञ दय विष्णु प्रसाद गुरागाईं र नविना दाहालले गर्नुभएको समाजकी अर्की सहजकर्ता पुनम भट्टराईले बताउनुभयो।




