डेंगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगु भाइरस चार प्रकारका हुन्छन्, जसलाई भाइरस १, २, ३, ४ मा विभाजन गरिएको छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय रहने गर्छ । एडिज लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकन गुनिया, जिकालगायत संक्रमण हुने गर्छ । लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्ने भएकाले एकचोटि भाइरस देखिएमा छिट्टै महामारीका रूपमा फैलन्छ ।
चितवनमा पछिल्लो चौबिस घण्टामा दुई जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या २ हजार १ सय ९५ पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार ५७३ जना, रत्ननगर नगरपालिकाका २ सय ४९, खैरहनी नगरपालिकाका १ सय ७३ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५० जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्।
डेंगु सरुवा रोग हैन । यो एक प्रकारको भाइरल ज्वरो नै हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।डेंगुबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो तर संक्रमण भइहालेमा चिकित्सकको निगरानीमा बस्नुपर्छ ।
मनलाग्दी औषधि सेवन झन खतरनाक हुन्छ । एण्टिबायोटिकको प्रयोग पनि घातक हुनसक्छ । डेंगुको औषधि बनेको छैन । डेंगु विश्वकै लागि चुनौती बनेर खडा भइरहँदा सचेततालाई नै विशेष जोड दिइनुपर्छ । डेंगुको संक्रमणबाट बचाउनको लागि सरकारले विशेष कार्यक्रम संचालनमा जोड दिनुपर्छ । सामान्य ज्वरो र डेंगुबीचको फरकबारे आम नागरिकलाई जानकार बनाउनुपर्छ । डेंगुको परीक्षण गराउने र डाक्टरको निगरानीमा बस्न पाउने व्यवस्था गरिनुपर्छ ।
पानी जम्ने र फोहर बढी भएको ठाउँमा लामखुट्टेको बास हुन्छ । सीमान्तकृत वर्गहरुको बासस्थान वरपर यस्ता ठाउँहरु बढी हुन्छन् । उनीहरुले डेंगुबाट बच्ने उपाय थाहा नपाउने र कतिपय अवस्थामा झुलजस्ता अत्यावश्यक सामग्रीको अभाव पनि हुनसक्छ । यी यावत् समस्याबारे सरकारको ध्यान जानुपर्छ । संक्रमण बढ्दै जाँदा हुनसक्ने सम्भावित क्षतिको आँकलन गर्दै नियन्त्रणको प्रभावकारी कदम चालिनुपर्छ ।




