काठमाडौ । अहिले माओवादीभित्र नेतृत्वबारे गहिरो बहस चलिरहेको छ। विभिन्न समूह र उपसमूहहरू बनेका छन्। एकथरि समूह जसरी पनि प्रचण्डलाई हटाउनुपर्छ भन्ने अडानमा छन् भने अर्को समूह प्रचण्डलाई संयोजक सम्मको भूमिकामा राख्न सकिन्छ भन्ने धारणा लिएको छ।
हामी चाहिँ भिन्न धारणा राख्छौँ। हाम्रो विचारमा प्रचण्डको खाँचो अहिले पनि देश र पार्टी दुवैका लागि अपरिहार्य छ। उनले सुरु गरेको जनयुद्ध शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आए पनि द्वन्द्वकालीन मुद्दाहरू अझै यथावत छन्। ती संवेदनशील मुद्दा समाधान गर्न आज पनि प्रचण्ड जत्तिको क्षमता र अनुभव अरू कसैसँग छैन।
विगतका विभिन्न कालखण्डमा पार्टी फुट्दा र टुक्रिँदा पनि प्रचण्डकै नेतृत्वमा माओवादी मुलधारको राजनीतिमा मजबुत भएर बसेको छ। अहिले पार्टीमा देखिने मान्छेको भीड विचारका कारण मात्र होइन, धेरै हदसम्म प्रचण्डकै अनुहारका कारण हो। अहिले पनि आधा कार्यकर्ता प्रचण्डको नेतृत्व हेरेरै पार्टीमा बसिरहेका छन्। यदि प्रचण्डलाई कमजोर पारियो वा हटाइयो भने ती कार्यकर्ताहरू राजनीति त्याग्ने वा निष्क्रिय हुने सम्भावना प्रबल छ। प्रचण्डलाई निष्क्रिय पारेको खण्डमा उनीहरूले अरू नेताहरूलाई सघाउछन् भन्न सकिन्न।
प्रचण्ड आज पनि सक्षम र सक्रिय छन्। उनी रहुञ्जेल यो व्यवस्थालाई कसैले सजिलै हल्लाउन सक्दैन। अहिले नै उनको शक्ति खोसियो भने केवल माओवादी मात्र कमजोर हुँदैन, जनयुद्धको बलमा ल्याइएको सम्पूर्ण उपलब्धि नै उल्टिने खतरा छ।
पार्टीलाई पुनर्गठन गर्नैपर्छ, यसमा दुई मत छैन। नयाँ पुस्ता नेतृत्वमा आउनैपर्छ। तर त्यो प्रक्रिया प्रचण्डलाई कमजोर पारेर वा उनको नेतृत्व खोसेर होइन, बरु उनका किचन क्याबिनेट दखि केन्द्रीय सदस्यहरुलाई फिर्ता बोलाएर हरेक तहका संरचनामा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व छानेर अघि बढाउनुपर्छ।
यहि अवस्थामा नेतृत्व हस्तान्तरण गर्दा भविष्यमा पार्टीको बीउ पनि नभेटिने खतरा छ। यसले जनयुद्धका सपना र उपलब्धिहरू नै धरापमा पर्न सक्ने संकेत गर्छ। त्यसैले अहिलेको प्राथमिकता प्रचण्डलाई कमजोर पार्नु होइन, उनको अनुभव र प्रभाव प्रयोग गरेर पार्टीलाई मजबुत बनाउनु हो। र अहिलेको आवश्यकतामा अध्यक्ष प्रचण्ड बाहेक अरु सबै संरचना भत्काएर फेरि नयाँ बनाउनुको विकल्प छैन। जहाँ युवा मात्रै होइन, योग्य र क्षमतावान अनुहार जो विगतमा प्राथमिकतामा पारिएन तिनिहरूलाई खोजेर ल्याएर कमिटीमा राख्नु पर्छ, प्रचण्डलाई हटाएर शक्ति आर्जन गरेर पार्टी बनाउँछु भन्ने लिँढे ढिपि लिने हो भने छिट्टै बढारिन लागि तयार हौ।




