सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार)ले कात्तिक २२ गते मधेस प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सोनलसहित सत्तारूढ सात दलको बिहीबार बिहान बसेको बैठकपछि विश्वासको मत लिने निर्णय भएको हो । तथापि अहिलेसम्म प्रदेश सभालाई विश्वासको मत लिनेबारे औपचारिक जानकारी गराइसकिएको छैन ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारमा सहभागी दलहरूको बैठकबाट कात्तिक २२ गते विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार विश्वासको मतका लागि कांग्रेस र एमालेसँग समेत आग्रह गर्ने तयारी भएको छ । सरकार गठन गर्ने बेला नै धेरै कुरा स्पष्ट भएकाले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।
सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ । दुवै पार्टीबाट प्रदेशसभामा एक÷एक जना सदस्य छन् । यी दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ जना प्रदेशसभा सदस्यको समर्थन मिलेको छ ।
१०७ सदस्यीय प्रदेश सभामामा तीन जना निलम्बन भएपछि हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन् । सोनल नेतृत्वको सरकारलाई बहुमतका लागि प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत (५३ सदस्य) आवश्यक छ ।
सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना(एक जना निलम्बित), जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीका एक÷एक जना प्रदेशसभा सदस्य रहेका छन् ।




