सर्लाही । बागमती नगरपालिका वडा नम्बर -८,का स्थायी निवासी सेवा निबृत्त शिक्षक जंगबहादुर महतो आज भोलि झिसमिसे बिहान देखि बेलुका अबेर सम्म आफुले सञ्चालन गरेको कृषि अनुसन्धान केन्द्र श्रीफरेश्वर प्राकृतिक कृषिशालामा ब्यस्त हुने गर्छन् ।
श्रीफरेश्वर प्राकृतिक कृषिशाला नाम रहेको आफ्नो कृषि अनुसन्धन केन्द्रमा महतोको बिहान, दिन र गोधुली साँझ बित्ने गर्छ । लामो समयसम्म शिक्षण पेशामा रमाएका कर्मशील ब्यक्तित्व महतो छिमेकी जिल्ला तथा परोसी गाउँहरुमा एक उदाहरणीय र उर्जाशील कृषि बिज्ञका रुपमा प्रशिद्द छन् ।
एक समयसम्म जंगबहादुर महतोको परिचय कुशल शिक्षकका रुपमा मात्रै सिमित थियो भने आज महतोको जीवन शैली र परिचय बदलिएको छ । महतो हरेक दिन धुस्रै/फुस्रै भएर आफ्नो खेतीपातीमा डुलिरहेका हुन्छन् । कहिले साना किसान सहकारीको सभामा आफ्नो कृषि अनुसन्धन केन्द्रका बारेमा गफिरहेका देखिने महतो खेतीपाती र उत्पादनका बारेमा खुलेर बताइरहेका हुन्छन् । गाउँ- गाउँमा पुगेर कृषकसंग आत्मियता साटिरहेका महतो आफ्नो लागि भन्दा पनि आम किसानका लागि बाँचिरहेका देखिन्छन् ।
समाज र सामाजिक उत्तरदायित्व बुझेका जंगबहादुर महतो कृषि बैज्ञानिक र किसानमुखी अभियानका प्रबर्तक हुन् भन्दा फरक पर्दैन होला ! महतोको अनुसन्धान केन्द्र श्रीफरेश्वर प्राकृतिक कृषिशालामा उच्च पहाडी तथा हिमाली भू-भागमा पाइने स्याउ तथा कटुस देखि लिएर मधेस र पहाड दुबै स्थानमा उत्पादन हुन सक्ने कागती, आँप, लिची, ड्रागन फुड, अम्बा, एबोगार्डो, अंगुर, केरा, मुनुङगा, कालो बेसार, तरुल, सगरखंडा, कटुस छन् भने झापाली, इन्डियन तथा लोकल सिमल तरुलको पनि व्यवसायिक खेती सुरु भएको छ ।
महतो भन्छन्, “आफ्नो अनुसन्धान केन्द्र श्रीफरेश्वरवर प्राकृतिक कृषिशालामा “थाइलेन्ड र इन्डियन जातको सिमल तरुल उत्पादन हुने गरेका छन् भने- दुबै जातको सिमल तरुल छ महिनामै तयार हुन्छ । सिमल तरुलको एक बोटमा झण्डै बीस केजी सम्म उत्पादन हुने गरेको पनि महतो बताउँछन् ।
धनुषा जिल्ला नगरायन गाउँको जठी टोलमा जन्मिएका महतो सानै उमेरमा पिताको हात समातेर सर्लाहीको साबिक शंकरपुर गाउँ आएका थिए । सानै उमेर देखि पढाइ लगायत अन्य गतिविधिमा शिपालु जंगबहादुर महतो कालान्तरमा समाज र सामाजिक रुपमा आदर्श पात्रका रुपमा यस क्षेत्रमा स्थापित बने ।
महतोलाई नजिकबाट चिनेका साना किसान कृषि सहकारी संस्था बागमतीका प्रबन्ध/निर्देशक माधव प्रसाद काफ्ले भन्छन्, “जंगबहादुर महतो शिक्षा सेवीसँगै एक कुशल कृषि क्रान्तिका नायक तथा अभिभावक हुन् ।

महतो सम्झन्छन् “काठमाडौको कालिमाटीमा एक समय भारतीय तरुलले असी प्रतिसत बजार ओगटेको थियो तर राजघाट र शंकरपुरका किसानले उत्पादन गरेको तरुल कालिमाटीमा जान थाले पछि भारतीय तरुल सुन्यमा झरेको थियो ।

तत्कालीन अबस्थामा राजघाट र शंकरपुरका किसानहरुलाई तरुल लगायत मोकै, आलु, खुर्सानी, धान, बेसार लगायतका बालिनाली लगाएर आत्मनिर्भर बनाउन सिकाउने श्रेय पनि जंगबहादुर महतोलाइ नै जान्छ भन्छिन् “सामाजिक अभियन्ता सबिता गौतम ।
तरुलमा देशैभरी प्रसिद्धि कमाइदिएको भन्दै महतोलाई स्थानीयले “तरुलका पिता भन्ने गरेको पनि गौतमको भनाइ छ ।

आफ्नु अनुसन्धान केन्द्र श्रीफरेश्वर प्राकृतिक कृषिशालाले उत्पादनमा ल्याएको पहेलो सगरखन्डा औषधीय गुणले भरिपुर्ण हुने गरेको महतोको भनाइ छ । आफ्नो अनुसन्धान केन्द्रमा रहेका अधिकांश फलफुल औषधीय गुणले भरिपुर्ण हुने गरेको महतो बताउँछन् । अझ कालो बेसार त झनै औषधियुक्त रहेको उनको भनाइ छ । क्यान्सर जस्तो रोगसँग लड्न सक्ने बहुउपयोगी कालो बेसारको मूल्य विश्व बजारमा हजारौ पर्न जाने महतोको दाबी छ ।

महतो भन्छन् “सुन कागती टिपेर साध्य छैन एकै बोटबाट तीन हजार आम्दानी हुने गरेको छ । श्रीफरेश्वर प्राकृतिक कृषिशाला अनुसन्धान केन्द्रमा रसायन एबं बिषादी रहित खेती प्रणाली हुने गरेको महतोको भनाइ छ । केन्द्रले उत्पादन गरेको ४६/३२ जातको उखुले एकै बोटमा एक कुइन्टल उत्पादन दिने गरेको छ ।

तर अनुकुल मौसम नहुंदा स्याउका बोटहरु सुकेर ढल्ने गरेको प्रति महतोको दु:खेसो छ । उनी भन्छन् “राज्यको कृषि प्रतिको अनुदार र हेपाहा प्रवृत्तिका कारण आफुले चाहे जति काम गर्न नसकेको महतो बताउँछन् । कृषिमा आधुनिकीकरण मार्फत देशलाई समुन्नत कृषिप्रधान देश बनाउन लम्केका जंगबहादुर महतोको हिम्मतलाई हाम्रो पनि सलाम ।




