हरिवन, सर्लाही । बालबालिकाको समग्र विकास तथा सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वडास्तरीय बाल क्लब संजाल गठन कार्यले तीव्रता पाएको छ।
बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न वडास्तरमा रहेका विद्यालय तथा समुदायमा आधारित बाल क्लब र समूहलाई एकीकृत गर्ने लक्ष्यका साथ संजाल गठन कार्य अघि बढाइएको पर्सा गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख चन्दा यादवले जानकारी दिनुभयो।

उहाँका अनुसार विभिन्न बाल क्लब तथा समूहलाई संगठित र प्रभावकारी बनाउँदै उनीहरूको आवाजलाई स्थानीय तहसम्म पुर्याउन वडास्तरीय संजाल गठनलाई प्राथमिकता दिइएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बागमती सेवा समाज नेपाल, सर्लाहीले यस कार्यमा प्राविधिक सहजीकरण गरिरहेका छन्। यसै क्रममा चैत्र ३ गते पर्सा गाउँपालिका वडा नं. ५ मा पब्लिक माध्यमिक विद्यालयमा आयोजित बाल भेलाबाट ममता कुमारी यादवको अध्यक्षतामा २९ सदस्यीय वडास्तरीय बाल क्लब संजाल गठन गरिएको छ। कार्यक्रममा वडा सदस्य शिकान्ती पासवान, शाखा प्रमुख चन्दा यादव तथा विद्यालयका प्रधानाध्यापक चेतनारायण बैठा लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, सोही दिन हरिपूर्वा नगरपालिका वडा नं. ७ मा पनि वडा अध्यक्ष उमेश राय यादवको उपस्थितिमा आयोजित भेलाबाट ललित कुमार यादवको अध्यक्षतामा १९ सदस्यीय बाल क्लब संजाल गठन गरिएको छ। बाल भेलामा बाल अधिकार, बाल संरक्षण तथा बाल क्लबको भूमिकाबारे अभिमुखीकरण गरिनुका साथै आगामी गतिविधि सञ्चालनका लागि कार्ययोजना समेत तयार गरिएको बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो।
वडास्तरीय बाल क्लब संजाल गठनसँगै बालबालिकाको नेतृत्व विकास, सहभागिता अभिवृद्धि तथा अधिकार संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।




