सर्लाही । वन डढेलोका घटनामा वृद्धि हुन थालेपछि सर्लाहीमा नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभियान सुरु गरिएको छ । वन डढेलो नियन्त्रणको डिभिजन वन कार्यालय सर्लाहीले सचेतना अभियान सञ्चलान गरेको छ । अभियान अन्तर्गत डिभिजन वन कार्यालय सर्लाहीले चैत १ गते देखी ७ गते सम्म वन डढेलो व्यवस्थापन सप्ताह सचेतना ¥याली निकालेको हो ।

सुख्खा मौसमसँगै वन क्षेत्रमा आगलागीका घटना बढ्ने जोखिमलाई ध्यानमा राख्दै अभियानलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । अभियानअन्तर्गत बुधबार सर्लाहीको लालबन्दिमा सचेतनामूलक ¥याली र कोणसभा आयोजना गरी सर्वसाधारणलाई डढेलो नियन्त्रणबारे जानकारी दिइएको थियो ।
बजार क्षेत्रमा निकालिएको ¥यालीमा सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, वन उपभोक्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । ¥यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै डढेलो नियन्त्रणसम्बन्धी सन्देश फैलाएको थियो ।
“वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले वन संरक्षणसम्बन्धी सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले वनमा आगो लगाउनु कानुनी अपराध भएको र वन संरक्षण सबैको साझा जिम्मेवारी भएको सन्देश दिएका थिए ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमूख सन्तोश कूमार झाले वन आगलागी नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले डढेलो लगाउने व्यक्तिलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै वातावरण संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा डिभिजन वन कार्यालय, सामुदायिक वन समितिका पदाधिकारी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उपभोक्तासहित सयौं व्यक्तिको सहभागिता रहेको थियो ।





