प्रेमनाथ पौडेल, सर्लाही । गत फागुन २३ गते शनिबार सुर्खेत जिल्लाकी इनिशा बिकमाथि बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधीहरू हालसम्म सार्वजनिक नगरेको विरोधमा आज हरिवन बजारमा विरोध र्याली आयोजना गरिएको छ।
महादेव जनता माध्यमिक विद्यालय, हरिवनको रोड सेफ्टी क्लबको आयोजनामा सम्पन्न उक्त र्यालीमा विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

र्यालीमा सहभागीहरूले दोषीलाई यथाशीघ्र सार्वजनिक गर्न, कडा कानुनी कारबाही गर्न तथा पीडितलाई न्याय दिनुपर्ने माग राखेका थिए। विद्यार्थीहरूले विभिन्न नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए। उनीहरूले यस्ता जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुने र कानुनी प्रक्रिया छिटो अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिएका छन्।

आयोजक पक्षले यस्ता घटनाको पुनरावृत्ति रोक्न समाज, प्रशासन र सरोकारवाला निकाय सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, विद्यार्थी नेता राहुल ठाकुर र अनुजा भण्डारीले दोषीलाई सार्वजनिक गरी कानुनी कारबाही नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।




