काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसको भ्रातृ संस्थाका रुपमा नरहने निर्णय गरेको छ । नेविसंघको काठमाडौंमा सम्पन्न सिनेट बैठकले पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको हो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको विधान अनुसार सिनेट बैठक महत्वपूर्ण नीतिगत र वैधानिक निर्णय गर्ने थलो हो । सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए ।
‘बदलिदो समय अनुसार विद्यार्थी आन्दोलनमा पनि सुधार जरुरी रहेको महसुस गरेकै थियो । सिनेट बैठकले नेविसंघमा संस्थागत सुधारको ढोका खुलेको छ । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली स्वायत्त बनाउने निर्णय गरेका छौं’, अध्यक्ष शेर्पाले भने ।
पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिएको नेबिसघ सर्लाही काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष लबहरि ढुङ्गेल ले बताए ।
साथै सिनेट बैठकले नेविसंघको आगामि महाधिबेशन बैशाख २० र २१ गते गर्ने निर्णय पनि गरेको छ ।




