प्रेमनाथ पौडेल
जेष्ठ २१, सासापुर |
सर्लाहीको हरिवन नगरपालिकामा स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) सम्बन्धी दुईदिने अनसाइट कोचिङ कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य तथा सामाजिक विकास शाखा, हरिवन नगरपालिकाको आयोजनामा हरिवन नगर अस्पताल सासापुरमा बुधबार र बिहीबार सञ्चालन गरिएको कार्यक्रमको समापन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको थियो। समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाई आवश्यक व्यावहारिक ज्ञान र दक्षता प्रदान गर्ने लक्ष्यसहित कोचिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रशिक्षकका रूपमा प्रादेशिक अस्पताल मलंगवाका कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादव तथा मलंगवा नगरपालिकाकी सि.अ.न.मी. निरीक्षक सीता भट्टले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले नवजात शिशु तथा बालरोग व्यवस्थापनका विभिन्न व्यावहारिक पक्ष, सेवा प्रवाहका मापदण्ड तथा समुदायमा आधारित स्वास्थ्य सेवाका विषयमा प्रशिक्षण दिनुभएको थियो।
हरिवन नगर अस्पतालका प्रमुख तथा इन्चार्ज मोहन घिसिङका अनुसार दुई दिनसम्म सञ्चालन भएको कोचिङ कार्यक्रममा नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख, इन्चार्ज, अनमी लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन अवसरमा स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रशिक्षकद्वय, सहभागी स्वास्थ्यकर्मीहरू तथा कार्यक्रम सञ्चालनका लागि हल उपलब्ध गराउने हरिवन नगर अस्पताल परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य शाखाका सह–संयोजक श्याम विनोद कुशवाह, नर्सिङ निरीक्षक लक्ष्मी आचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो।

नगरपालिकाले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले स्वास्थ्यकर्मीहरूको दक्षता बढाउनुका साथै नवजात शिशु तथा बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।





