केशब तिवारी “घायल”
गैडाकोट । गैंडाकोट नगरपालिका शिक्षा समितिको गत बैशाख २४ गतेको निर्णय अनुसार बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष रहने भनी बिद्यालयहरुलाई पठाइएको पत्र सम्बन्धमा मंगलबार गैंडाकोट नगरपालिका उपमेयर बिष्णु कुमारी कंडेल सहितको काङ्ग्रेस समुहले ६३ जना कार्यपालिका सदस्यहरुको हस्ताक्षर सहितको ज्ञापनपत्र नगर प्रमुख समक्ष बुझाएको छ ।
बिद्यालय ब्यबस्थापन समिती छनौटको नगरपालिकाको यस निर्णय प्रती नेपाल शिक्षक संघ नवलपुर, शिक्षक संघ गैंडाकोट , नेपाल बिद्यार्थी संघ नवलपुर र नेपाली काङ्ग्रेस गैंडाकोटले यस अघि नै बिरोध जनाइसकेका छन । बिद्यालय ब्यबस्थापन समिती गठन प्रक्रियाका बिषयमा बहुमत रहेका नेपाली काङ्ग्रेस पक्षका जनप्रतिनिधिहरुले सुरुवाती चरणदेखि नै असहमति जनाउदै आएका थिए ।
काङ्ग्रेसको ज्ञापनपत्र बुझिसकेपछि शिक्षा समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख छत्रराज पौडेलले पत्रकार सम्मेलन गरी उपप्रमुख लगायत गैंडाकोट काङ्ग्रेस प्रती आक्रोश व्यक्त गरेका छन । गैडाकोट नगरपालिकामा उपप्रमुख लगायत १८ जना सदस्यहरु जनताबाट मत पाएर आइसके पनि जनप्रतिनिधि हुन नसकेको र बिगत ३ बर्षदेखी यो समूह आफू र आफ्नो निर्णयका विरुद्ध खुलेर लागि परेको आरोप समेत लगाएका छन । प्रमुख पौडेलले आफ्नो निर्णय विरुद्ध यो समुह जति नै लागेपनि बिचारहिन तत्वहरुलाइ बेवास्था गरि गैंडाकोट समृद्धिका लागि सधैं अघि बढिरहने र कसै सँग सम्झौता नगर्ने बताएका छन ।
पौडेल भन्छन – यदि कसैले नियम र कानुन मान्दिन भन्छन भने त्यसमा मेरो भन्नू केही छैन, नगरपालिकाले जारी गरेको शिक्षा बिधेयक कानुन सम्मत नै रहेको छ । कथा लेखे जसरी ज्ञापनपत्र लेखेर बिरोध गर्नुको कुनै औचित्य छैन । काङ्ग्रेस प्रतिनिधिहरु यदि फुर्सदमै हुनुहुन्छ भने सबैभन्दा पहिले कानुनमा के छ त्यो पढेर जानकार रहनुस् । चोक चौपारीबाट कार्यकर्ता उठाएर नगपालिका प्रबेश गराउंदैमा केही हुने वाला छैन । हामीले जे गरेका छौँ कानुन सम्मत नै गरेका छौँ । चित्त नबुझे अदालत जानुहोस यहाँ बाजा बजाएर निर्णय फिर्ता हुन सक्दैन ।




