माडी नगरपालिकास्थित बघौडा अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचारकक्ष निर्माण गरिने भएको छ । नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिको बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार अस्पतालमा आइसोलेसन निर्माणको काम तत्काल शुरु गर्ने र सघन उपचारकक्षका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार अस्पतालमा ३० श्ययाको आइसोलेसन वार्ड तयार गरिनेछ । माडी नगरपालिकाको सोमेश्वर माविमा रहेको क्वारेन्टिनमा बस्ने छ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएलगत्तै समितिले यस्तो निर्णय गरेको हो ।
सघन उपचारकक्षसहितको आइसोलेसन वार्ड बनाउने भरतपुर महानगरपछिको दोस्रो स्थानीय तह भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा जिल्लामा रहेका अस्पतालसँग समन्वय गर्ने प्रक्रिया शुरु भइसकेको ढकालको भनाइ छ ।




