काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनको समयमा प्रदर्शन गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बन्दाबन्दीको आदेशविरुद्ध समूहमा प्रदर्शन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा विभिन्न बहाना र माग राखी विगत केही दिनयता सामाजिक सञ्जालबाट सर्वसाधारणलाई आह्वान गरी निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन नाममा अनावश्यक भिडभाड गरी बन्दाबन्दीको अवहेलना गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
बन्दाबन्दीको आदेशविपरीत काम गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन–२०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीको आदेशमा १ सय देखि ६ सय रुपैयाँसम्म जरिवाना र १ देखि ६ महिनासम्म थुनामा राख्ने चेतावनी गृहको छ ।




