चितवन । मानिसको सुविधा भोगी तथा विलासी आचरणका कारण साइकलको शहर भनेर परिचित चितवन जिल्लामा केही समय यता साइकल चलाउने लहर घटेको अवस्थामा फेरि स्वच्छ वातावरण र स्वस्थ जीवनशैली भन्ने मनसायले रुक्मिनी सापकोटाले चलाउनु भएको अभियान “एक सपना साइकल र सफा नेपालको” पूरा गर्न भरतपुर महानगरपालिकाले सक्दो पहल र प्रयास गर्ने धारणा यसै महानगर प्रवक्ता एवम् वडा नं. १० का वडा अध्यक्ष अरुण पिडित भण्डारीले बताउनु भएको छ।
सुरक्षित साइकल चलाउनको लागि महानगरपालिकाले साइकल लेन बनाउन सुरु गरिसकेको र अबको २/३ बर्ष भित्र १६ मिटर बन्ने बाटोमा साइकल लेनसमेत हुने जानकारी उहाँले दिनुभएको छ ।
साइकल स्वास्थ्य र पर्यावरणको प्रयायवाची भएकोले आफुले पनि सकेसम्म साइकल चलाउने गरेको पनि उहाँले जनाउनु भएको छ।तेल जन्य सामग्री बिदेशबाट आयात गर्नु पर्ने भएकोले साइकल चलाउने बानीले राष्ट्रको पनि ब्ययभार कम हुने समेत उहाँको धारणा छ।
अबको केही समय भित्र नै करिब ५०० वटा साइकल बिपन्न बर्गलाई बाँड्न थालिएकोले महानगरपालिका साइकल सिटि बनाउनको लागि तत्पर देखिएको हो भन्ने संदेश पनि स्पष्ट भएको छ ।
प्रबक्ता भण्डारीका अनुसार अब महानगरपालिका तथा सबै वडामा साइकललाई अनिवार्य गरिने भएको छ।कम्तिमा पनि हप्ताको २ दिन मेयर देखि वडा अध्यक्षले अफिस आउँदा र जाँदा अनिबार्य साइकल चलाउने वातावरण सृजना गरिने पनि उहाँले बताउनु भएको छ।
हाम्रो समाज स्वास्थप्रति सजग भए तापनी गाडी चढेर जिम जाने अनि जिम गरिसकेपछि गाडी चढेर फर्किने केही हास्यास्पद गतिविधि पनि हुने गरेको पनि उहाँले बताउनु भएको छ। साइकल चलाउदै गर्दाको अबस्थामा भेटिनुभएका अरुण पिडित भण्डारीले सानासाना काम तथा आफ्नो ब्यबसायमा जाँदा आउँदा साइकल नै प्रयोग गर्न जोड दिनु भएको छ।भण्डारीले म आफू पनि साइकल प्रेमी रहेको र सबै नगरबासीलाई साइकल चढ्न प्रोत्साहन गरिरहेको बताउनु भएको छ।
अन्त्यमा साइकलको महत्व अन्य देशमा पनि बढ्दै गइरहेको परिप्रेक्षमा नेपालमा पनि यसलाई बढाउनु आबस्यक रहेको भन्दै उहाँले साइकलको महत्वलाई नगरबासी माझ लान सकेकोमा चितवनकी साइकल यात्री रुक्मिनी सापकोटालाई विशेष धन्यबाद दिनुभएको छ।




