पोखरा । कोरोना महामारीका कारण विश्व नै आक्रन्त भएका बेला नेपाल समेत यसबाट अछुतो छैन । नेपालका सबै क्षेत्रमा लकडाउनका कारण असर पुगेको छ । पछिल्लो समय लकडाउन खुकुलो गरेसँगै केही व्यवसायहरु भने सञ्चालनमा आएका छन् । लकडाउनले जग्गा सम्बन्धि कारोबार गर्ने (रियल स्टेट) व्यवसायीहरुलाई समेत प्रभाव पारेको छ । विगत ४ वर्षदेखि जग्गाको कित्ताकाटमा रोक लगाई राज्यबाटै व्यवसाय धराप भइरहेका बेला कोरोना महामारीले थप पीडा थपेको पोखराका रियल स्टेट व्यवसायीहरु बताउँछन् ।
संसारमा विकसित देशहरुले व्यवस्थित शहरीकरण, हाउजिङ्ग र अर्पाटमेन्ट निर्माणमा विशेष ध्यान दिएका छन् । नेपालमा समेत कानुनी रुपमा नै रियल स्टेट गर्न इजाजत प्राप्त गरी सरकारले तोकेको मापदण्ड पूरा गरेका कम्पनीहरुबाट नै कारोबारको माग गरिएको छ । आइतबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै गण्डकी जग्गा तथा आवास विकास संघले कोरोना महामारीका कारण संस्था र कम्पनीको अर्बौको लगानी निश्कृय भई तरलतामा समेत असर परेको जानकारी गराएको छ । व्यवस्थित शहरीकरणका नाममा खेती योग्य जग्गामा असर नपुग्ने गरी आफुहरुले संस्थागत हिसाबले काम गरिरहेको व्यवसायीहरु बताउँछन् ।
अन्य राज्यले व्यवस्थित शहरीकरण गर्न रियल स्टेटलाई अन्य उद्योग व्यवसाय सरह मान्यता दिएको र प्रोत्साहन समेत गरेको वर्तमान समयमा नेपालमा भने ठिक उल्टो भएको व्यवसायीहरुले गुनासो पोखेका छन् । यवस्थित शहरीकरण र स्याटलाईट सिटीको निर्माण रियल स्टेट व्यवसायबिना सम्भव नरहेको उनीहरुको भनाई छ । नेपालमा स्पष्ट भूउपयोग नीति नहुँदा अव्यवस्थित बसोबास र शहरीकरणले थला पारेको व्यवसायीहरु बताउँछन् । जग्गा कित्ता काटमा रोक लगाउँदै अपारदर्शी गतिविधि मौलाउने अवसरको सृजना राज्यबाटै भएको उनीहरुको आरोप छ । कित्ता काट सहज बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई १० बुँदे निर्देशन दिए पनि पालना नहुनुमा केही स्वार्थ समूहको चलखेल रहेको व्यवसायीहरुको ठहर छ ।
गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अरुण स्तोम त्रिपाठी भन्छन्,“हामी जथाभावी कित्ता काटको पक्षमा छैनौं । खेती योग्य जमिनमा बस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं । कित्ता काट रोक्दैमा मानिसको व्यवस्थित र सुरक्षित शहरमा बस्ने चाहना रोक्न सकिदैन । हामी रियल स्टेट, हाउजिङ्ग र अर्पाटमेन्टको लागि निश्चि मापदण्ड कायम गरियोस् भन्ने पक्षमा छौं । मापदण्डका आधारमा कित्ता काट खुल्ला गरी रियल स्टेट व्यवसायको प्रवद्र्धन गर्दै व्यवस्थित शहर निर्माण पहल गर्न हाम्रो माग हो ।”
नेपालको रियल स्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कूल लगानी मध्ये करिब १० प्रतिशत भन्दा बढी लगानी रहेको उनले जानकारी गराए । यति ठूलो लगानी भएको क्षेत्रले राजश्व, रोजगारी सृजना तथा अर्थतन्त्रलाई चलाएमान बनाउन ठूलो योगदान दिएको उनको भनाई थियो । संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले कित्ता काटनै रोकिदा व्यवसाय चौपट भएको बताएका छन् । उनले ४ वर्ष समयको बिचमा आफुहरुले मन्त्रालय सँगै पोखरा महानगरमा समेत पटकपटक ताकेता गरेता पनि सुनवाई नभएको गुनासो पोखे । कित्ता काटमा रोक लगाउँदा र कोभिड १९ को प्रभावले बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज समेत तिर्न नसक्ने अवस्था आएको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुलाई विषम परिस्थतिमा कर्जाको रिइन्स्टलमेन्ट गर्न र ब्याजमा छुट दिन उनले आग्रह गरेका छन् ।
२०६१ सालमा स्थापना गरिएको गण्डकी जग्गा तथा आवास विकास संघमा १८० जना व्यवसायी आबद्ध रहेका छन् । ५ अर्ब भन्दा बढी लगानी रहेको सो क्षेत्रमा ३ अर्ब जति बैंक तथा वित्तिय संस्थाको लगानी छ ।




