चितवन। चितवन जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित बनेका खेलाडीलाई राहत वितरण गरेको छ ।संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोरोना प्रभावित महिला रतथा पुरुष खेलाडीलाई राहत वितरण गरेको हो । संघले ३२ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको द्वितीय उपाध्यक्ष विजय घलेले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आएको ७५ हजारमा जिल्ला संघले २१ हजार थपेर खेलाडीलाई वितरण गरेको हो । कोरोनाबाट प्रभावित जिल्ला संघ र क्लबलाई एन्फाले ७५ हजारका दरले राहत पठाएकाे थियो ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आएको १ लाख डलरबाट एन्फाले जिल्ला र क्लबलाई सहयोग उपलब्ध गराएको थियो ।
जिल्ला लिग खेलेका फुटबलरहरूलाई राहत दिएकाे घलेले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रह्लाद प्रधानकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चितवन जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष श्याम पिया, नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनाेदबाबु रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।




