चितवन । चितवनमा याे साता नयाँ काेराेना संक्रमित थपिएका छैनन् । चितवनकाे प्रयाेगशालामा शुक्रवार एक सय १२ नमुनामा काेराेना भाइरस (काेभिड–१९) परीक्षण गरिएकाेमा सबैकाे नतिजा नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
शुक्रवारकाे समेतगरि याे साता चितवनकाे प्रयाेगशालामा विभिन्न जिल्लाका सहित आठ सय ४८ नमुना परीक्षण गरिएकाे छ । जसमध्ये नवलपुरका छ जना पुरूष र एक जना महिलामा काेराेना संक्रमण देखिएकाे छ । चितवन जिल्लाकाे मात्र याे साता सात सय ८५ नमुना परीक्षण गरिएकाे छ । जिल्लामा याे साता कुनै पनि नयाँ संक्रमित नथपिएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यता शुक्रवार भरतपुर अस्पतालबाट चार जना संक्रमित काेराेनामुक्त भएर घर फर्किएका छन् । अब अस्पतालमा छ जना संक्रमित उपचाररत रहेका पौडेलले बताए ।
गत शुक्रवार प्रयाेगशालामा १ सय ५७ नमुना परीक्षण गरिएकाे मध्ये स्थानीय क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका ११ का ४६ वर्षीय पुरूषमा काेराेना संक्रमण देखिएकाे थियाे । उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
यसैबीच भरतपुर अस्पतालमा डायलासिस गराएका संक्रमित पुरूष कोरोनामुक्त भएर यसै साता घर फर्किएका छन् । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ का ३३ वर्षीय ती पुरूष कोरोनामुक्त भएर घर फर्किएका अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार असार १७ गते अस्पताल भर्ना भएका ती पुरूषमा असार २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
साउदी अरबबाट फर्किएका ती मिर्गौला रोगी पुरूषलाई दोस्रोपटक कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । उनी त्यहीँ नै कोरोना संक्रमण भएर निको भएपछि नेपाल आएका थिए । उनले त्यहाँ रहदादेखि नै नियमित डायलासिस गराउर्दै आएको बताइएको छ ।




