चितवन । चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका वडा नं ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् ।
त्यसैगरि खैरहनी नगरपालिका वडा नं ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ वटा नमूनाको नतिजा नेटेटिभ आएको छ ।




