चितवन। भरतपुर अस्पतालले काेराेना भाइरस (काेभिड-१९) संक्रमित महिलाकाे सफल अप्रेशन गरेकाे छ । गोरखा जिल्लाकाे गोरखा नगरपालिका–१० छेवेटारकी ३७ वर्षीया गर्भवती महिलाकाे शुक्रवार दिउँसो सफल अप्रेशन गरिएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।
शल्यक्रियापछि ती महिलाले जुम्ल्याहा छोरा जन्माएकी छिन् । दुवै शिशु समान साढे दुई केजी ताैल भएका जन्मिएका छन् । भरतपुर अस्पतालका विशेषज्ञ सहितकाे टाेलीले ती महिलाकाे सफल शल्यक्रिया गरेका हुन् । अहिले दुवै शिशु र आमाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मेट्राेन शान्ता भण्डारीले जानकारी दिईन् । उनले अहिले आमा र बच्चालाई अलग्गै राखिएकाे बताईन् । ती गर्भवती महिला भदाै ९ गते काेराेना संक्रमण पुष्टिकाे रिपोर्ट सहित भरतपुर अस्पताल भर्ना भएकी थिईन् ।
उनलाई अस्पतालले छुट्टै राखेर विशेष हेरचाह गरेकाे सूचना अधिकारी पाैडेलले बताए । संक्रमण अरूलाई नसरोस् भनेर पूर्वतयारीका साथ अप्रेशन थिएटरमा अलग्गै व्यवस्थित तरीकाले शल्यक्रिया गरिएकाे उनले जनाए । उनले काेराेना संक्रमित र अन्य बिरामीलाई अप्रेशन तथा अन्य उपचारमा छुट्टा–छुट्टै व्यवस्था गरिएकाे बताए ।
गर्भवती र अन्य बिरामीलाई भरतपुर अस्पतालमा निर्धक्क भएर सेवा लिनकाे लागि समेत उनले आग्रह गरेका छन् । चितवनमा यसअघि शल्यक्रिया पछि केही बिरामीमा काेराेना संक्रमण पुष्टि भएकाे भएपनि संक्रमण पुष्टि भएकाे बिरामीकाे अप्रेशन गरिएकाे याे नै पहिलो भएकाे अस्पतालले जनाएकाे छ ।




