चितवन । चितवनकाे भरतपुर १० स्थित रहेका दुईवटा प्रयाेगशालामा कोरोना परीक्षण राेकिएकाे छ ।
भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा आरटी पीसीआर किटकाे अभावका कारण आइतवार दिउँसोदेखि कोरोना परीक्षणको काम राेकिएकाे अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए । उनले प्रयाेगशालामा अन्य कामहरू भने सञ्चालनमा नै रहेकाे बताए ।
किट खरिदकाे प्रक्रिया अघि बढी सकेकाे छ । किट उपलब्ध हुनासाथ पुनः काेराेना परीक्षण सुरू गरिने उनले बताए । प्रयाेगशाला सञ्चालनकाे केही समयपछि किट अभावका कारण यसअघि पनि परीक्षण प्रभावित हुँदै आएकाे थियाे । अहिले भने लामाे समयदेखि यस प्रयाेगशालामा किट अभाव भएकाे थिएन ।
उता चितवन मेडिकल कलेज (सीएमसी) मा सञ्चालन गरेको कोरोना प्रयोगशालामा समेत परीक्षण राेकिएकाे छ । प्राविधिक रूपमाकेही समस्या देखिएका कारण गत तीन दिनदेखि काेराेना परीक्षण राेकिएकाे प्रयाेगशालाका संयाेजक डा. नविन कुमार चाैधरीले जानकारी दिए ।
उनले प्रयाेगशालामा देखिएकाे समस्या समाधानकाे प्रयास भैरहेको जनाएका छन् । अहिले भदाै १ गतेदेखि संकलन गरिएकाे नमुनाकाेकाेराेना परीक्षण हुन सकेकाे छैन । उनका अनुसार प्राविधिक समस्याकाे समाधान गरी छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ। नियमित रुपमा सञ्चालनमा आएकाे १८ देखि २४ घण्टाभित्र अहिलेसम्म जम्मा भएका सबै नमुनाकाे परीक्षण गरेर सकिने संयाेजक डा. चाैधरीले बताए ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकाे समेत गरी चितवनमा ३ वटा काेराेना प्रयाेगशाला रहेका छन् ।




