चितवन । चितवनमा आन्तरिक पर्यटन प्रवर्दन गर्न नारायणगढदेखि पटिहानीसम्म साइकल र्याली गरिएको छ । उद्योग वाणिज्य संघ चितवन तथा साइकल राइडर्स क्लबको आयोजनामा आज विश्व पर्यटन दिवस २०२० को अवसरमा र्याली गरिएको हो ।
उद्योग वाणिज्य संघ नारायणगढबाट शुरु भएको र्याली भरतपुरको गणेशस्थान बाइपास रोड हुँदै जखडीमाई साइकल ट्रेलबाट, गोन्द्राङ, राइनो ताल, बिसहजारी ताल र छितामाई हुँदै पटिहानी पुगेको थियो । र्यालीमा ४० जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले पर्यावरण जोगाउने, पर्यटन प्रवर्दन र साइकल चढेर शारीरिक रुपमा स्वस्थ बन्नको लागि र्यालीको आयोजना गरिएको बताउनुभयो । उहाँले कोरोनाको महामारीबाट व्यापार, व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधि धरासायी भएकाले साइकल पर्यटनबाट भए पनि केही आशा जगाउने प्रयास गरिएको बताउनुभयो ।
चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकल सिटीको अवधारणा ल्याई सोही अनुसार पूर्वाधारहरु बनाउन माग गरेको छ । क्लबले चितवनमा साइकल मार्ग निर्माण गरी साइकल पर्यटनको विकास गर्न र साइकलसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु राख्न आठबुँदे पत्रसहित स्थानीय तह, उद्योग वाणिज्य संघमा माग राखेको हो ।




