चितवन । चितवन जिल्ला फुटबल संघले जिल्लाका क्लबहरुलाई खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच संघले जिल्लाका २५ वटा क्लबहरुलाई खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।संघले प्रत्यक क्लबलाई ३-३ थान फुटबल र थर्मल गन वितरण गरेको हो । कोरोना भाइरसका कारण लामो समयदेखि ठप्प रहेको खेलकुद गतिविधि शुरु भएपछि नियमित प्रशिक्षणका लागि क्लबहरुलाई फुटबल वितरण गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए ।
उनले मैदान प्रवेश गर्नु अघी शरिरको तापक्रम नाप्नका लागि क्लबहरुलाई थर्मल गन पनि उपलब्ध गराइएको बताए । तामक्रम मापन गर्दा उच्च देखिए घरमै आरम गर्न उनले सम्पूर्ण क्लब तथा खेलाडीहरुलाई आग्रह गरेका छन् । फुटबल सामुहिक खेल भएकोले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उच्च सावधानी अपनाउन समेत उनको आग्रह छ।
सोही अवसरमा बोल्दै भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उच्च सावधानी अपनाउन खेलाडीहरुलाई आग्रह गरे । उनले वडा नम्बर ७ ले खेलकुदलाई सधैं उच्च प्राथमिकतामा राखेको बताए । अन्य स्थानीय तहले पनि खेलकुदलाई प्राथमिकतामा राखेर अघी बढ्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघ चितवनका उपाध्यक्ष अनिल बिक्रम कार्की, वडा नम्बर ७ का वडा सदस्य राजेन्द्र तामाङ लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न क्लबका प्रतिनिधि तथा खेलाडीहरुको सहभागीता रहेको थियो ।




