नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी र तीन अन्य व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आगामी शुक्रबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो ।
शुक्रबार ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकामा आठ जनामा सङ्क्रमण देखिएको हो । अध्यक्ष पाण्डे अहिले होम आइसोलेसनमा बसेका छन् । शिशु फाल्ने पक्राउ शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् ।
कात्तिक ४ गते दिउँसो नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।
पक्राउ परेका दुबैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ । महिलाको अर्कै पुरुषसँगको सम्बन्धपछि बच्चा जन्मिकाले उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।




