चितवन । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई गैर आवासीय नेपाली सङ्घले रक्त सङ्कलन गर्न घुम्ती बस सहयोग गरेको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा सङ्घले बस खरिद गरेको हो । रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उहाँले जानकारी दिनुभयो ।
बसभित्र रक्तदान गर्ने, प्रेसर नप्ने र रक्त सङ्कलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सहज हुनेछ ।
सङ्घले पूर्वी चितवनको रत्ननगरमा अन्तरराष्ट्रियस्तरको राष्ट्रिय रक्तसञ्चार केन्द्र बनाउन प्रस्ताव गरेको पौडेलले जानकारी दिनुभयो । अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको छ । उहाँले भन्न्ुभयो, “मागअनुसार पूरा गर्न सकेका छैनौँ । दैनिक ५० युनिट रगत पुर्याउन पनि कठिन परेको छ ।”
पहिलेको तुलनामा केही रक्तदानका कार्यक्रम भए पनि यसले पर्याप्त नहुने उहाँको भनाइ छ । बिरामीका आफन्त, स्वयंसेवी रक्तदाताको भरमा चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले रगतको अभाव हुने समय नभए पनि कोरोना सङ्क्रमण त्रासले रक्तदान हुन नसकेको हो ।” पछिल्ला दिनमा दुर्घटना कम भएको भए पनि अस्पतालमा उपचारका लागि आउने बिरामी बढेसँगै रगतको माग बढेको छ ।




