चितवन । चितवनको केन्द्र भागमा करीब ३० करोडको लागतमा निर्मित ‘चितवन गार्डेन रिसोर्ट’ को अँग्रेजी नयाँ बर्ष (पौष १७) गतेदेखि शुभारम्भ हुने भएको छ । कृष्णपुरस्थित कटहरचोकमा रिसोर्टले पत्रकार सम्मेलन गरी रिसोर्ट संचालनमा ल्याउने जानकारी गराएको हो ।
रिसोर्टको सम्पूर्ण तयारी पुरा भइसकेको र पौष १७ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक विशेष कार्यक्रमका बीच रिसोर्टको उद्घाटन गर्ने प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । रिसोर्टमा २८ वटा विभिन्न क्याटागोरीका लक्जरियस कोठाहरु छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल समेत उपलब्ध रहेको घिमिरेले जानकारी दिनुभयो । भरतपुर शहरभित्रकै नमूना तीनतारे स्तरको रिसोर्टले विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था, उद्योगी व्यवसायी, पेशागत कर्मचारी लगायत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको घिमिरेले बताउनुभयो ।
१७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३२ जनाले प्रत्यक्ष रोजगारी पाएको रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । ३० करोड लगानीमा निर्मित रिसोर्ट शहरको मध्य भागमा सञ्चालन र भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुको आवातजावतमा सहजता हुने हुँदा बाहिरी जिल्लाबाट आउने पाहुनाहरुको लागि रिसोर्ट उपयोगी हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको दाबी समेत गर्नुभयो ।
रिसोर्टमा सेन्ट्रल एसी हलसहितको १ हजार जना अटाउने सभाहल, २०० जना क्षमताको व्यान्क्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल गरी छुट्टाछुट्टै चार वटा हल रहेको र २८ वटा प्रिमियम, स्ट्यान्डर्ड कोठाहरु, जीम क्लब, आकर्षक फूलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री लगायतका सुविधा रहेको रिसोर्टका अप्रेशनल डाइरेक्टर मनिष शर्माले जानकारी दिनुभयो ।
रिसोर्ट परिसरमा जन्मदिन, बिहे, ब्रतबन्ध, लाईभ म्युजिक कार्यक्रमको लागि मञ्च सहितको खुल्ला चौरसमेत रहेको र प्राकृतिक, हरियाली मनोरम वातावरणका साथै रिसोर्टबाट गैंडाकोटको मौलाकालिका मन्दिर, पर्वतीय श्रृंखला तथा एयरपोर्टको दृश्यावलोकन गर्न सकिने शर्माले बताउनुभयो । रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनलाई रिसोर्टका डाइरेक्टर श्रीराम देवकोटाले सञ्चालन गर्नुभएको थियो ।




