एम्.के.ज्वाला
स्मार्ट चितवन, डिजिटल चितवन, औद्योगीक चितवन, कृषिमय चितवन, अस्पतालको राजधानी, पर्यटकीय र साँस्कृतिक गन्तव्य चितवन हुँदै चितवन जिल्लाले विभिन्न उपनाम प्राप्त गर्दै आइरहेको छ । मध्यनेपालको नाकाको रुपमा रहेको चितवन बाग्मती प्रदेशमा अवस्थित रहेको छ । साधन स्रोतले सम्पन्न मात्र नभई सबै विकल्पहरुको विकल्प बन्दै गइरहेको चितवनमा गत निर्वाचनमा एउटा आवाज सुनियो, “स्मार्ट चितवन”, “स्मार्ट सिटी” आदी अत्याधुनिक शहरीकरण सहित चितवनको मुहार फेर्ने आश्वासन । तर हालसम्म हामीले चाहेको स्मार्ट चितवन बनाउन सकियो त ? वा यसका केही सुरुवात हुन सके त ? यसको विषयमा यहाँ विस्तृत चर्चा गरिनेछ ।
चितवन जिल्ला काठमाण्डौँ पश्चात् सम्भवतः बाग्मती प्रदेशकै अत्यन्तै चर्चित जिल्ला रहेको सर्वविदितै रहेको छ । कतै समथर भूमी, कतै चुरे पर्वत, कतै निकुञ्ज हुँदै चारैतिर हरियाली नै हरियाली रहेको चितवन जिल्लालाई स्मार्ट चितवन बनाउनु भनेको बोलीमा जस्तो सम्भव कुरा होइन । यसको लागी नेतृत्वले थुप्रै नीतीगत, रणनीतिगत र त्यसको मूल्याङ्कन एवं अनुगमन सहितको कार्यविधी तयार गरी क्षेत्रगत रुपमा चितवनलाई स्मार्ट बनाउनका लागी तिव्रतर परिश्रम गर्नु आवश्यक पर्ने थियो । जुन आजको मितीमा आउँदा हिजोको कुरा घाममा सुकाइदेउ भन्ने उखान झैँ चरितार्थ हुँदै गएको छ ।
हामीलाई थाहा छ की राजनैतिक इच्छाशक्ति र जोडबलका अगाडि सर्वसाधारण नागरिकको केही सीप लाग्दैन । त्यस्तो इच्छा शक्ति र जोडबलका लागी जनप्रतिनीधीहरु निर्वाचित भएपश्चात् सबै जनप्रतिनिधीहरु मिलेर स्मार्ट चितवनको लागी सङ्कल्प प्रस्ताव आउनै सकेन । हुन त केही राजनैतिक दलले आफ्ना विकासविद् भनिने नेतृत्वलाई चितवन झिकाएर चितवनको विकासको लागी के गर्ने भनेर अन्तरक्रिया गरे । यद्यपी चितवन जिल्लालाई कसरी विकसित र स्मार्ट बनाउन सकिन्छ भनेर कुनै निश्चित कार्ययोजना र खाका विना नै दोस्रो स्थानिय र राष्ट्रिय निर्वाचनको काउण्टडाउन सुरु भइसकेको छ ।
चितवनको जैविक, भौतिक, प्राकृतिक तथा वातावरणीय संरचनाको आधारमा कुन स्थानमा के गर्ने, के नगर्ने र त्यस स्थानलाई कसरी विकसित र सुविधा सम्पन्न बनाउने भन्ने विषयमा न त यहाँका राजनैतिक दलका नेताहरुसँग कुनै योजना छ न त कुनै ठोस कार्ययोजना । यहाँको राजनिती चलिरहेको छ त केवल, “जहाँ जाला जोगी भातै खाला” भन्ने उखान झैँ । जसरी पनि शासन सत्तामा उपस्थिती जनाउने बाहेक यहाँको रणनैतिक, सामाजिक, आर्थिक एवं दिगो विकासको लागी वास्तविकताको अध्ययन गरी एउटा सामूहिक निती बनाएर सोही निती अनुसार अगाडि बढ्न कुनै पनि राजनैतिक दल र तिनका भातृ सङ्गठनहरुले सार्वजानिक निती तथा योजना पत्र सार्वजनिक गरेका छैनन् । यद्यपी चुनावको बेला तयार गरेर वितरण गरिएको चुनावी घोषणापत्र र आश्वासनहरु त घाममा सुकेको धेरै भइसकेको छ ।
राजनिती भनेको हरेक सूचकहरुको प्रमुख सूचक हो जो द्वारा विकास निर्माण र भौतिक पुर्वाधारहरु एवं नागरिकको खुशी, सुख र समृद्धिको सम्पुर्ण सूचक नै प्रभावित हुन्छ । त्यसकारण कुनै पनि स्थानको राजनैतिक अवस्था कस्तो छ भन्ने विषयले त्यहाँको जनताको अवस्था कस्तो छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
चितवनको राजनिती कस्तो राजनिती ?
राजनिती भनेको सबै शक्तिको केन्द्र हो । शक्तिको भोक भएकाहरुको मुख्य कर्म पनि राजनिती नै हो । चितवनको राजनितीको मुख्य विशेषता भनेको के हो भने यो प्रदेश र सङ्घबाट प्रभावित र राजनैतिक गुट तथा उपगुटहरुबाट अति प्रभावित हुनु तथा सानो विषयले पनि छिनभरमै तरङ्गित हुनु हो । विशेषतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसको बर्चस्व रहेको चितवनमा पछिल्लो समय विवेकशील साझा पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले आफ्नो सङ्गठन र कार्यक्रमहरुको विस्तार गरिरहेका छन् यद्यपी यि दलहरुलाई नेतृत्वमा पुग्न अझै फलामको चिउरा चपाउनु बराबर नै रहेको छ ।
यहाँको राजनितीमा विशेष गरी उद्योगी, व्यवसायी, व्यापारी तथा व्यवसायिक कृषि कर्म गर्नेहरुको बर्चस्व रहेको छ । शिक्षा, स्वास्थ्य, श्रम, रोजगार, खेलकूद, अस्पताल, होटल, ब्याङ्क्वेट तथापर्यटन, गैह्रसरकारी तथा व्यवसायिक फर्म लगायतका क्षेत्रहरुमा पनि उल्लेख्य राजनैतिक पहुँच र प्रभाव विस्तार भइरहेको चितवन जिल्लामा कुनै राजनैतिक दलको आड नलिएमा करिब करिब अप्ठ्यारोमा पर्ने मानसिकताको विकास हुँदै गइरहेको छ । यस्तै शक्ति र सत्ताको आड लिएमा सरकारी झमेलाबाट मुक्त हुन सकिन्छ भनेर सत्तामा भएका राजनैतिक दलबाट सदस्यता लिएर उम्कने खोज्नेको जमात पनि चितवनमा उल्लेख्य रुपमा पाईन्छ जसकारण यहाँको जनमत निरन्तर परिवर्तन भइरहेको इतिहास चितवनमा जगजाहेर रहेको छ ।यी सबैका बाबजुद पनि राज्यलाई नेतृत्व दिन सक्ने र थिंक ट्याङ्कको रुपमा योगदान दिन सक्ने प्रशस्त प्रकाण्ड विद्वानहरु पनि चितवनमा रहेका छन् तर उनिहरुमा भएको ज्ञान र सीपलाई राज्य र स्थानिय सरकारले यथेष्ट रुपमा प्रयोग गरेर जनतालाई “सोसल डेलिभरी” गर्न सकेको छैन । यहाँको नेतृत्वले यस्ता बौद्धिक व्यक्तित्वहरुको ज्ञान र क्षमतालाई प्रयोग गर्ने भन्दा पनि सबै कुरामा आफैँ जान्ने हुनुपर्ने बाध्यता सृजना गरेको छ जुन सर्व देवं मैखणं भन्ने नेपाली उखानसँग ठ्याक्कै मेल खान्छ । यस्तो हुनु समग्र बौद्धिक जमातमाथि पनि राजनितीको गहिरो प्रभाव रहेको छ भन्ने पुष्टि हुनु हो तर राजनैतिक नेतृत्वले बौद्धिक जमातको योजनाबद्ध हिसाबले परिचालन, ज्ञान तथा सिपको समुचित प्रयोग गर्न नसकेकोले यहाँको राजनिती व्यवस्थापन सङ्कटमा भुमरीमा फसिरहेको छ ।यसतर्फ चितवनका राजनैतिक दलहरुले बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।
स्मार्ट चितवन निर्माणका लागी चितवनका राजनैतिक दलहरुले गर्नुपर्ने कुराहरुः
१)विज्ञहरुको समूह गठन गरी दिगो विकास सहितको प्रतिवेदन तयार
चितवन जिल्लामा रहेकासम्पुर्ण राजनैतिक दलहरुले सामूहिक रुपमा सङ्कल्प गरेर विकासका सामूहिक योजना निर्माणका लागी विकास विज्ञहरुको एक समूह गठन गर्नुपर्ने छ । उक्त विज्ञहरुको समूहले चितवन जिल्लावासीहरुसँग व्यापक अन्तरक्रिया गर्दै नेपालले सन् २०३० सम्म लिएकोदिगो विकासका १७ लक्ष्य तथा उद्धेश्यहरु हाँसिल गर्नका लागीक्रमाङ्क सहितको व्यवहारिक कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्नुपर्नेछ । सो प्रतिवेदन उपर व्यापक छलफल तथा बहस गरी चितवन जिल्लालाई सुखी, समृद्ध र शान्त जिल्ला बनाउनका लागी सम्पूर्ण राजनैतिक दलहरुविच मतैक्यता हुन पर्नेछ । स्मरण रहोस्, दिगो विकासको मुख्य नारा भनेको “कोही पछि नपरुन्” भन्ने रहेको छ । समाजमा पछाडि परेका सिमान्तकृत, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र गरिबीको रेखामुनी रहेका समुदायको जिवनस्तरमा पनि परिवर्तन ल्याउने गरी चितवनको विकासमा साझा सहमती, सहकार्य र एकता सहितको ठोस कदम चाल्न जरुरी रहेको छ ।
२)शहरी क्षेत्र र शहरोन्मुख क्षेत्रलाई वर्गीकरण गरी नियमन गर्ने
चितवन जिल्लालाई ७८ औँ जिल्लाको रुपमा पनि चिनिन्छ । पुर्व, पश्चिम, तराई मधेश चारैतिरबाट बसाईसराई गरेर चितवन आउनेको जनसंख्या हालैका दिनहरुमा बढेर गएको छ । चितवनको अधिकांश कृषियोग्य भूमी प्लटिङ्ग र जग्गाको किनबेचले गर्दा किसानको पहुँचबाट अत्यन्तै टाढा पुगेको छ । विदेश जानेहरुले पठाएको रेमिट्यान्सले चितवनमा घडेरी किन्ने अनि घर बनाउने लहर व्यापक बढेर गइरहेको छ । अहिले लकडाउनको अवस्थामा समेत लकडाउन पश्चात् घडेरीको मूल्यमा वृद्धि हुन्छ भनेर बैना गरेर बस्नेको कमी छैन ।
अब चितवन जिल्लामा कुन क्षेत्रमा वस्ति बस्ने वा बसाउने, कुन क्षेत्रमा कृषि गर्ने वा गर्न दिने अनी कुन क्षेत्रमा औद्योगीक कलकारखाना खोल्ने वा खोल्न दिने भनेर विभिन्न क्षेत्रहरुको क्लस्टर बनाएर बैज्ञानिक वर्गीकरण हुन आवश्यक रहेको छ । पुर्व चितवन, पश्चिम चितवन हुँदै पहाडि क्षेत्रमा रहेका शक्तिखोर, काउले, कोराक, सिद्धि, दारेचोक, चण्डिभञ्ज्याङ, चात्राङ लगायत क्षेत्रको तल्लो क्षेत्र व्यापक रुपमा शहरोन्मुख हुँदै गइरहेको छ ।विकासका संरचना निर्माण अगावै नेतृत्वले त्यहाँका नागरिकहरुको जिवनस्तर, पोषणको अवस्था, शुद्ध खानेपानीमा पहुँच, शिक्षा र स्वास्थ्यमा पहुँच, प्रतिव्यक्ति आम्दानी र आम्दानीको स्रोत, खाद्यान्नको उत्पादन, भण्डारण र विक्रीको अवस्था, बसोबास गरेको स्थानको सामाजिक, वातावरणीय र प्राकृतिक अवस्था, प्रति परिवार बिजुली खपत लगायतलाई तथ्याङ्ककृत गरेर अनि बल्ल भौतिक विकासका पुर्वाधारहरु जस्तै सडक, ढल लगायतको विकास गर्नेतर्फ सम्बन्धित नेतृत्व र पालिकाहरुले ध्यान दिन जरुरी छ । यस्तै शहरी तथा ग्रामीण बस्तीमा पुस्तकालयको व्यवस्था, सामुहिक भजन, किर्तन, ध्यान, जप गर्ने स्थानको व्यवस्था, सामूहिक भेला हुने केही सार्वजानिक भवनहरु लगायत गुणस्तरिय जिवनका सूचकहरुको कार्यान्वयन गर्दै चितवन जिल्लालाई सुखी, शान्ति र समृद्ध जिल्ला बनाउन आवश्यक रहेको छ । किनभने आज जिल्लालाई बैज्ञानिक संरचनामा लगेर नमुना बनाएमा यो नेतृत्वले राष्ट्रको उपल्लो तहमा पुगेर नमुना हुने गरी राज्यलाई नेतृत्व प्रदान गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।
३) बारीदेखी बजारसम्मको अवधारणा आवश्यक
चितवन जिल्लामा कृषि कर्म गरेर जिवन निर्वाह तथा व्यवसायिक उन्नयन गर्नेहरुको संख्यामा वृद्धि भएर गएको छ । तर बारीमा उत्पादन भएका त्यस्ता खाद्यान्न, तरकारी तथा फलफूलहरुलाई बजारीकरण गर्ने र बजारसम्म पु¥याउने संयन्त्रको आवश्यकता चितवनमा खड्कीरहेको छ । यसका लागी विभिन्न विकल्पहरु रहेका छन् ।
क) दुग्ध सहकारीको अवधारणामा कृषि सहकारी
स्थानिय स्तरमा स्थापना भएका दुग्ध डेरीहरुले दुध संकलन गरेर बजारसम्म पु¥याउने र सो को मुनाफा किसानलाई पनि वितरण गर्ने प्रणालीले यहाँका ग्रामीण क्षेत्रमा बसेका दुग्ध उत्पादक कृषकहरु आत्मनिर्भर छन् । यस्तै अवधारणामा स्थानिय स्तरमा खाद्यान्न, तरकारी तथा फलफुल कृषी सहकारीकोे स्थापना गरी बारीमा उत्पादन भएका खाद्यान्न, तरकारी तथा फलफूल संकलन, प्रशोधन र वितरणको व्यवस्था मिलाई ग्रामीण अर्थतन्त्र र त्यहाँका मानिसहरुको जिवनस्तर उकास्न सकिन्छ ।
ख)कृषि सामाग्री उत्पादन, विक्री, प्रशोधन तथा प्याकेजिङ उद्योगलाई सहुलियत र प्रवद्र्धन
बिभिन्न कृषि सामाग्री तथा औजारहरुको उत्पादन, विक्री, प्रशोधन तथा प्याकेजिङ उद्योगलाई सहुलियत र प्रवद्र्धन गर्नुपर्दछ । यहाँको कृषिको लागी आवश्यक पर्ने औजार, मल, विउ, कच्चा पदार्थ लगायतका उद्योगहरुलाई प्राथमिकता दिई स्थापना गर्न र सञ्चालन गर्न हौसाला प्रदान गरिनुपर्दछ । कृषि सामाग्रीहरु प्रशोधन गर्ने र प्याकेजिङ गर्ने उद्योगहरुलाई चितवनमा सहुलियतका साथ स्थापना हुन र उनिहरुको व्यापार व्यवसाय प्रवद्र्धन गर्न सहुलियत, कर छुट, आम्दानीमा छुट लगायत विभिन्न रचनात्मक एवं प्रवद्र्धनात्मक योजनाहरु ल्याउनुपर्दछ । ज्ञात होस्, उद्योगको संख्या र उत्पादनको संख्या बढेमा बढ्दो बेरोजगारी समस्या हल गर्नका लागी मार्ग प्रशस्त हुन सक्दछ ।
४) व्यवसायिक सिप, परियोजनाको विकास र कार्यान्वयनका लागी तालिम प्रदान
राज्यको पुनःसंरचनासँगै देश सङ्घीयतामा गएको छ । चितवन जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय, व्यवसायिक सिप विकास तथा तालिम केन्द्र(ऋत्भ्ख्त्) ले पनि विभिन्न प्राविधिक सिपहरु समय समयमा सिकाईरहेको छ । तर चितवन जिल्लामा रहेका किशोरदेखी वयस्क अवस्थासम्मका व्यक्तिहरुले कुनै पनि व्यापार, व्यवसाय वा उद्योगधन्दा गर्न चाहेमा उनिहरुलाई व्यवसायिक योजना, परियोजना बनाउन, सो को लागी पुँजी खोज्न र परिचालन गर्न, व्यवसायमा जनशक्ति परिचालन गर्न, व्यवसाय दर्ता तथा कानुनी प्रावधान पुरा गर्नतथा व्यवसाय सञ्चालनको लागी चाहिने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सोँच तथा योजनाको विकास गर्न जिल्लाका विभिन्न स्थानमा निःशुल्क र सशुल्क गरी सरकारी, निजी तथा सामुदायीक रुपमा प्रशिक्षण लिने, जानकारी लिने र सिप सिक्ने थलोको अभाव रहेको विद्यमान परिस्थितीको आँकलन गरी त्यसको विकास गर्न जरुरी रहेको छ । सिकेको कुरा सिकाउने अर्थात सिप हस्तान्तरणको संस्कार बसाल्न आवश्यक छ । उद्योग, कलकारखाना खोल्न चाहनेलाई उद्योगधन्दा, कलकारखाना, व्यवसायको सुरुवात गर्न सहि परामर्श दिने र हौसला प्रदान गर्ने तथा सरकारी प्रक्रियाको लागी एकद्वार प्रणाली बनाई सहयोग गर्नुपर्छ । यस्तो गर्नाले नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले सरकारको प्रत्यक्ष सहयोग महसुस गर्न सक्छ । अर्को कुरा धेरै पैसा हुनेले मात्र कम्पनी दर्ता गर्ने तथा व्यवसायको सुरुवात गर्ने भन्ने हुँदैन कतिपय पेशा, व्यवसाय तथा उद्योग थोरै पैसाबाट पनि सुरुवात गर्न सकिन्छ भन्ने भावनाले व्यवसायिक योजना भएका व्यक्तिहरुलाई स्थानिय सरकारले स्रोत पनि खोजिदिन सहयोग गर्ने हो भने चितवनलाई उद्यमशील र व्यवसायीक चितवन बनाउन सकिन्छ । जसले जिल्लागत रुपमा रहँदै आएको आयको स्रोत बढ्दै जाने र यहाँको विकासको प्रतिफल समग्र जिल्लावासीहरुले उपभोग गर्न सक्ने अवस्थाको देखापर्दछ ।
५) स्मार्ट चितवनको स्थिती : विकासमा दुरदृष्टि
चितवनलाई स्मार्ट बनाउनका लागी चितवन जिल्लाका नेतृत्वहरुले बिभिन्न बिषयसँग सम्बन्धित विज्ञहरुको पहिचान र परिचालन गर्दै चितवन जिल्लालाई प्रविधी र पुर्वाधारको फ्युजन सहित आगामी ५० बर्ष पश्चातको चितवनको परिकल्पना गर्दै स्मार्ट चितवन निर्माण थालनी गर्न जरुरी रहेको छ । चितवन जिल्लामा अन्य जिल्लामा भन्दा काम गर्न सजिलो रहेको छ मात्र अभाव छ त व्यवस्थापनको । त्यसैले व्यवस्थापनको सिद्धान्तको उच्चतम प्रयोग गर्दै यहाँका स्वयंसेवी संघसंस्थाहरुसँग सहकार्य गर्दै “हामी बनाउँछौँ हाम्रो चितवन”, “स्मार्ट चितवनको लक्ष्य, चितवनवासीको दिगो भविष्य” लगायतका नाराहरु राखेर चितवन जिल्लामा विविध कार्यहरु गर्न सकिन्छ । कुन ठाउँमा के गर्ने भनेर योजना सहित जनतामा जान आवश्यक छ ।
विकासको दुरदृष्टि सहित यहाँका जनतामा आशा र अपेक्षाको सञ्चार गर्न जरुरी छ । यहाँका स्थानिय सरकारसँग पुँजी कहाँ खोजौँ भनेर आत्तिहाल्ने अवस्था छैन किनकी चितवन जिल्लामा आमा बुवाको सम्झनामा, छोराछोरीको सम्झनामा, वा अन्य कसैको स्मृति तथा सामाजिक सेवामा समर्पित भनेर विभिन्न दाताहरुले सार्वजानिक भवन निर्माणमा सहयोग गर्ने गरेका छन् । स्मरण रहोस् यहाँका कतिपय सामुदायिक विद्यालय, पुस्तकालय तथा सेवा केन्द्र निर्माणका लागी दाताहरुले आफुले सकेको दान तथा पुर्वाधारहरु निर्माण गरिदिएका छन । भनिन्छ हरेक व्यक्तिलाई भविष्यको निकै ठूलो चिन्ता हुन्छ । त्यहि भविष्यको सुरक्षा गर्न हरेक नागरिकहरुले स्थानिय सरकारलाई मुठी, मानो, मुरी हुँदै भूमी सम्म दान गर्छन् । यस्तै स्थानिय सरकारले सङ्घ र प्रदेशबाट प्राप्त गरेको बजेटको पनि सहि परिचालन हुन जरुरी रहेको छ । त्यसैले नेतृत्वले चितवनवासीको भविष्यलाई दिगो र मैत्रीपुर्ण बनाउनका लागी जनतामा विश्वासको वातावरण बनाउन आवश्यक रहेको छ । फेरी पनि प्रविधी र प्राविधीकको संयोजनद्वारा स्मार्ट चितवन यहि नेतृत्वको पालोमा सम्भव रहेको छ । बाँकी नेतृत्वको मर्जी ।
विश्रान्तमा,चितवन जिल्लामा रहेका स्थानिय सरकारका प्रमुखहरु, राजनैतिक दलका प्रमुखहरु, विकास साँझेदारहरु, गैह्रसरकारी संघसंस्थाका प्रतिनिधीहरु, स्वयंसेवी समूहहरु, राजनैतिक दल र तिनका विभिन्न भातृ संगठनहरुलाई चितवनको दिगो विकासको साझा मुद्धामा एक मत बनाई अगाडि बढ्न जरुरी रहेको छ । शहरीकरण भएको क्षेत्रमा ४ लेनको बाटोलाई ८ लेन र ८ लेनको बाटोलाई १६ लेन बनाई साइकल लेन, अपाङ्गता भएका व्यक्तिहरु हिड्ने लेन, जमिन मुनि तथा जमिनमाथि पार्किङ लगायतको व्यवस्था गरी विजुलीको तारलाई जमिनमुनीबाट लैजाने, इन्टरनेटको एक प्वाइन्टबाट शहर भरीको सम्पुर्ण घरमा इन्टरनेटको सुविधा पु¥याउने, सडकमा ट्राफिक लाइटको व्यवस्था गने, प्रहरी र प्रशासनलाई जनमैत्री र जवाफदेही बनाउने गर्नुपर्दछ । चितवनवासीको खण्डिकृत तथ्याङ्क संकलन र सो को आधारमा विकासको परियोजना वितरण गरिनुपर्दछ । जस्तैः जन्म, मृत्यु, बसाईसराई, अपाङ्गता, प्रतिव्यक्ति आय, पेशा, व्यवसाय, जाती, प्रति परिवार बैदेशिक रोजगारी र रेमिट्यान्स, प्रति परिवार पुर्वाधारमा पहुँच, प्रति परिवार शान्तिको महसुसको स्थिति, रोजगार, खाद्यान्न उत्पादन, उद्योगको संख्या र मासिक उत्पादन, उत्पादनबाट जिवनस्तर परिवर्तन लगायत विभिन्न तथ्याङ्कहरु संकलन गरेर एक सक्षम, शक्तिशाली र सेवक सरकारको अपेक्षा चितवनले राखेको छ । जनताको भावना, विचार र प्रतिक्रियालाई तसरकारले बुझेकोे छ । अब जनताको चाहाना बुझेर स्मार्ट चितवन बनाउनका लागी यहाँहरुले अग्रगामी छलाङ मार्नुहोस् । यहाँहरुलाई हार्दिक शुभेच्छा सहित शुभकामना ।




