नयाँ वर्ष
मनको वेदनाले आफैँ लेख्यो विदाईको कथा।
समयको विशाल चक्रले फेरि घुमेर भन्यो –
“छोड अब ती सबै, जसले तिमीलाई कहिल्यै बुझेनन्।”
पात्रोका पानाहरू मात्र होइनन् पल्टिएका,
जीवनका भ्रमहरू पनि एक–एक गरी च्यातिएका छन् ।
हिजोको सूर्यास्तसँगै,
मैले आफ्ना थाकेका भावनाहरूलाई पनि विश्राम दिएको छु।
अन्तिम अध्याय लेख्दा
हात काँपेन, आँखा पनि रोएनन्
किनकि पछुतो होइन,
मनभित्र एउटा गहिरो शान्ति जन्मिएको थियो।
जसले सम्झिए केवल आफ्नो स्वार्थ पूरा हुँदा,
आज तिनलाई समयकै आगोमा चढाएँ – स्वाहा!
जसले मौनतालाई कमजोरी ठाने,
तिनको भ्रमलाई पनि नया वर्षसँगै बिदा गराएँ -स्वाहा!
भीडमा साथ दिने तर
अँध्यारोमा हराउने अनुहारहरू,
आज ती सबैलाई सम्झनाबाट मेटाएर
मनको ढोकाबाट बाहिर पठाएँ -स्वाहा!
नयाँ वर्ष…
यो केवल अंक फेरिने कथा होइन,
यो आत्माको पुनर्जन्म हो,
जहाँ म फेरि आफूलाई चिन्ने प्रयास गर्दैछु।
अबको यात्रामा
भीड होइन, केही सच्चा छायाहरू मात्र हुनेछन्,
जहाँ शब्दभन्दा बढी
मौनले नै साथ दिनेछ।
अरूको अपेक्षाको भारी बोक्दा–बोक्दा
थाकेको यो मन,
अब आफ्नै सपनाको बाटोमा
हलुका पाइला चाल्न सिक्दैछ।
बितेका घाउहरूलाई अब
दुखको रूपमा होइन,
अनुभवका पदक झैँ
छातीमा टाँसेर अघि बढ्नेछु।
पुराना सम्बन्धका धमिला रङहरूलाई
गत वर्षको अन्तिम पानामै छोडेर,
अब नयाँ पानामा
मुस्कानको मसीले कथा लेख्नेछु।
किनकि जीवन अझै बाँकी छ,
आशा अझै बाँकी छ,
र म…
म अझै अधुरो कविता हुँ
जसले आफैँलाई पूरा गर्न बाँकी छ।
नयाँ वर्षको शुभकामना।
सबैमा !!
लेखक : मनोज बख्रेल




