गैंडाकोट । विद्यालय स्तरमा भाषिक विविधता र सांस्कृतिक विविधताको अध्ययन महत्त्वपूर्ण मानिन्छ । यसैको उदाहरण ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल एवार्ड कार्यक्रमले ल्याएको परिवर्तनलाई लिन सकिन्छ । स्मल हार्ट एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थीहरूले पाकिस्तानका दुई भिन्न विद्यालयहरूमा भाषिक विविधता र साँस्कृतिक विविधता अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । पाकिस्तानको वेकन हाउस विद्यालयसँग स्थानीय सांस्कृतिक भेष भूषा साटासाट गरे भने उक्त विद्यालय र सरकारी छात्रा विद्यालयसँग फलफूलहरूको नाम नेपाली भाषा र उर्दू भाषामा तीन वटै विद्यालयका विद्यार्थीहरूले अध्ययन गरे ।
इन्टरनेटको माध्यमबाट विद्यार्थीहरूले परिचय गरे र आफ्ना विदेशी साथीहरूलाई आफ्नो देशको भाषा सिकाए । यसरी अध्यापन गराउँदा अन्य देशका विद्यालयमा कसरी पढाइ हुन्छ भन्ने कुराको जानकारी भएको र भिन्न संस्कृति र भाषाको अध्ययनबाट विद्यार्थीहरूमा उच्च मनोवल विकास भएको कुरा उक्त परियोजनाको परियोजना प्रमुख शिक्षिका सुसेन क्षेत्रीले बताउनुभयो ।
यसरी अध्ययन गर्दा कक्षामा पढेको जस्तो अनुभव नभइ खेलेको जस्तो अनुभव हुने र पाकिस्तानी सांस्कृतिक भेष भूषा आफूलाई अत्यन्त मन परेको र विदेशी साथीहरूसँग बोल्न पाउँदा उनीहरूको भाषा सिक्न र आफ्नो भाषा सिकाउन पाउँदा आफूलाई खुसी लागेको कुरा कक्षा २ का छात्र निमिश् पाण्डेले बताए ।




