चितवन । भरतपुर अस्पताल सरसफाइ अभियान सातौं हप्तामा प्रवेश गरेको छ । भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नका लागि युवाहरुले शुरु गरेको अभियान आज (शनिबार) सातौं हप्तामा प्रवेश गरेको हो ।
‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन, फोहोरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन‘ भन्दै अस्पताल बिकास समितीको समन्वयमा बिभिन्न सामाजिक समुहहरुले अस्पताल क्षेत्र वरपर सरसफाई गरिरहेका छन् । सातौं हप्तामा आज भरतपुर महानगरपालिका, वे ग्रुप, यात्रा ग्रुप, सन्देश फ़ाउण्डेशन नेपाल, महानगर युवा संजाल, दारी ग्याङ, यूनाइटेड चितवन, बार्सा नेपाल, ग्रीनल्याण्ड पब्लिक स्कुललगायतका संघ संस्थाहरुले सरसफाई गरेका छन् ।
यसैबीच ग्रीनल्याण्ड पब्लिक स्कुलले भरतपुर अस्पताललाई बोतल बिन सहयोग गरेको छ । स्कुलसँगै विद्यालयका इको क्लब, कम्युनिटी क्लब, खुशीको संसारले अस्पताललाई बोतल बिन सहयोग हो । विद्यार्थीहरुले जन्मदिनको अवसरमा यि क्लबहरुमा संकलनगरी राखेको रकमसहित विद्यालयको सहयोगमा उक्त बोतल बिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उक्त बोतल बिन विद्यालयकी प्राचार्य इन्दिरा कार्की, सह प्राचार्य उपेन्द्र आचार्य, इको क्लबका अध्यक्ष रिकेन आले मगर, कम्युनिटीक्लबकी अध्यक्ष सोनिशा खड्का र उपाध्यक्ष निकिता पन्तले संयुक्त रुपमा अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराजअधिकारी र निमिक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।
बोतल बिन हस्तान्तरण गर्दै विद्यालयकी प्राचार्य कार्कीले विद्यार्थीहरुलाई सानैदेखि सरसफाई कार्यमा संगल्न गराउन सके सकारात्मक सोचको बिकास हुने बताईन् । अस्पतालका अध्यक्ष डा अधिकारीले स–साना विद्यार्थीहरुको यस्तो कदमले समाजमा सकारात्मक सन्देशजाने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, अस्पताल तथा विद्यालयका कर्मचारी र विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।




