चितवन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो ।
पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो । राप्रपा चितवनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले एक्यवद्धता जनाएका थिए । बस ट्रमिनलमा भएको पृथ्वीजयन्ती सभामा बोल्दै राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताउनुभयो । “पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको छ”, उहाँले भन्नुभयो, “जनताले करको भार, गरिबी पाए, चमात्कारिक विकास पाउन सकेनन्, अब राजसंस्थानै उचित विकल्प हो ।”
उहाँले विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शिर झुकाउदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्थानै चाहिएको बताउनुभयो । “हिन्दुराष्ट्र र राजसंस्था कायम गर्न जस्तोसुकै आन्दोलन गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “सरकारले फेरी पनि सुनोस्, राजसंस्था कायम गर ।” राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकिकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताउनुभयो ।
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको वेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गर्नुभयो । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने बताउनुभयो । प्रमुख वक्ताका रुपमा राप्रपाका बरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागि हुने भनिएपनि प्रतिकुल मौसमका कारण आउन नसक्नुभएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिनुभयो । राप्रपा चितवनका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव केशबराज भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।




