चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार चितवन सहित देशभरका वडाहरुमा विरोध शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको हो ।
चितवन कांँग्रेसले पनि यहांँका सातवटै स्थानीय तहका ९८ वटा वडामा आफ्नो शक्ति प्रर्दशन गरेको थियो । विरोधमा उल्लेख्य सहभागिता रहनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका थिए ।
सोही अनुसार चितवनमा पनि उल्लेख्य संख्यामा काँग्रेसका नेता कार्यकर्ताले ओलीको कदम विरुद्ध चर्को नारा तथा प्रर्दशन गरेका थिए । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनका सबै स्थानीय तहका वडाहरुमा ओलीले गरेको असंवैधानिक कदम विरुद्ध विरोध प्रर्दशन र सभा गरिएको जानकारी दिए । प्रर्दशनमा हजारौं नेता ,कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको र कार्यक्रम उत्साहजन सहभागिता रहेको श्रेष्ठले बताए ।
उनका अनुसार ९८ वडामा कम्तिमा १ जना महिला सहित ७ जनासम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । चितवनमा बिहीबार करिव ७० हजार नेता कार्यकर्ता विरोधका लागी सडकमा उत्रिएको उनले जानकारी दिए ।
सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा काँग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । काँग्रेसले जिल्ला, प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडा तहको प्रदर्शनका कार्यक्रम तय गरेको हो । काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सबै क्षेत्रमा आफ्नो सन्देश पुर्याउँदै आएको छ ।




