गैंडाकोट । गैंडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनले नयांँ विद्यार्थीहरुलाई स्वागत गरेको छ भने पुराना विद्यार्थीलाई विदाई गरेको छ । शुक्रबार गैंडाकोट रिसोर्टमा आयोजित गरिएको कार्यक्रममा सदनमा २०७७ का व्याचका कक्षा ११ मा अध्ययन गर्ने नयांँ विद्यार्थीलाई स्वागत गरिएको हो भने २०७६ मा १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

विजय सामुदायिक शिक्षा सहकारी संस्था मार्फत सञ्चालन भएको उक्त विद्यालयका हाल १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले विद्यालयले क्रमिक रुपमा शिक्षाको गुणस्तरमा फड्को मारेको बताउनुभयो । यो विद्यालय गैंडाकोट मै नमुना विद्यालय बन्न सफल भएको भन्दै उहांँले शिक्षक, विद्यार्थी तथा अभिभावक सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहांँले विद्यालयले शिक्षाको गुणस्तर कायम राख्न कुनै कसर बांँकी नराख्ने बताउँदै विद्यार्थीलाई अवसर नगुमाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्राचार्य रामचन्द्र न्यौपानेले यो प्रतिस्पर्धाको समयमा आफूले दक्ष शिक्षकद्धारा पठनपाठन गरेको र सोही अनुसार सक्षम विद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो । विद्यालयका निवर्तमान अध्यक्ष टिकाराम कंडेलले विद्यालयले क्रमश भौतिक पूर्वाधार तथा शिक्षाको गुणस्तर बृद्धि गर्दै गएकोमा प्रशंशा गर्नुभयो ।
कार्यक्रममा अतिथिहरु सहकारी संस्थाका उपाध्यक्ष पर्मेश आचार्य, कोषाध्यक्ष लक्ष्मण कार्की, सचिव रत्न प्रसाद सापकोटा , लेखा अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो । बाह्र कक्षा अध्ययनरत विद्यार्थी रोशन देवकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य छात्रा सन्ध्या सुवेदीले गर्नुभएको हो ।
सो अवसरमा विद्यालयका लेखापाल पार्वती कंडेल सापकोटाको समेत विदाई गरिएको थियो । १० बर्ष लामो अवधिमा विद्यालयको कार्यकुशलता तथा क्षमताको उच्च मुल्यांँकल गर्दै लेखापाल सापकोटालाई विद्यालयले उज्ज्वल भविष्यको कामना समेत गरेको थियो ।




