सर्लाही । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि उत्पन्न विभिन्न प्रतिक्रिया र चर्चाप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । नेतृत्व चयनको प्रतिस्पर्धा र त्यसपछिका छलफलहरूलाई लिएर कार्यकर्तामा देखिएको अन्योल र ’तरंग’ प्रति ध्यानाकर्षण गराउँदै उनले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा (एमाले) का नेता ईश्वर पोखरेले आफ्ना कुरा राख्दै महाधिवेशनपछिको अवस्थालाई स्वाभाविक रूपमा लिन र विगतका विभाजनकारी तीता अनुभवहरूबाट त्रसित नहुन आह्वान गरे । 
नेता पोखरेलले पार्टीभित्रका हरेक तहका नेता र कार्यकर्ताले ’आत्मसमर्पण’ नभई ’आत्मसम्मान’ खोज्ने उल्लेख गरेका छन् । उनले भने, ’कसैलाई काखा र कसैलाई पाखा नगरियोस् भन्ने आम अपेक्षा हुन्छ । त्यस्तो नहुँदा असहमति वा विरोध हुनु स्वाभाविक हो, यसलाई नेतृत्वले बुझ्नुपर्छ ।
यसपटक नेतृत्व चयनमा सर्वसम्मति हुन नसक्नुको मुख्य कारण नेतृत्वबाटै ठोस पहल नहुनु रहेको पोखरेलको दाबी छ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले फेसबूकमा स्टाटसमा लेखेका छन्, ’नेतृत्वमा रहेका खास खास व्यक्तिहरूलाई बिदा गर्ने पूर्वयोजनाका कारण त सर्वसम्मति नगरिएको होइन ? धेरै सहभागीले यो प्रश्न मनमा लिएर फर्केका छन् ।
प्रतिस्पर्धाको प्रक्रियामा जाँदा आफूहरूले पार्टी जीवनको लोकतान्त्रिकरण र नीतिगत अडानलाई ’अवधारणा पत्र’ मार्फत बन्द सत्रमा समेत प्रस्तुत गरेको उनले स्पष्ट पारेका छन् । ती मुद्दाहरू लुकाउनुपर्ने खालका नभएको र अहिले महाधिवेशनको निष्कर्षलाई पालना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ ।
विगतका विभाजन र नोक्सानदायी परिणामहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै नेता पोखरेलले अब ’विगतको भूत’ बाट तर्सिरहनु उचित नहुने बताए । उनी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । महाधिवेशनपछि पोखरेल समूहको काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको भेलालाई लिएर सार्वजनिक टिप्पणी बढेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।




