१२१५ देखिको भूकम्पको इतिहासले बनाएको भौगोलिक भू–बनावट र अर्कोतिर मध्यपाषण युगको हतियार कारखानाका प्रमाणित आधारहरूले एकीकृत पुरातात्विक पर्यटन केन्द्रको रूपमा विकास गर्न सकिने विज्ञहरूको सुझाव रहेको छ ।
बर्दिबास । इतिहासविद्हरूका अनुसार नेपालमा रेकर्ड गरिएको पहिलो भूकम्प वि.सं. १२१८ को हो । तत्कालीन समयमा ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । त्यसपछि नेपालमा ठुला–ठुला भूकम्प गए तर जनधनको क्षतिको मात्र आकलन गरियो । यसका भौगोलिक क्षतिको विषयमा भने कुनै पनि खोज, अनुसन्धान हुन सकेका थिएनन् ।
तर भूगर्भविद् डा.सोमनाथ सापकोटा लगायतका विज्ञहरूले महोत्तरीको चुरे क्षेत्रमा गरेको भौगोलिक क्षतिको अध्ययन भने निकै रोचक छ । पिएचडीको थेसिस लेख्ने क्रममा विज्ञहरूले गरेको अध्ययनअनुसार कतिपय ठाउँमा बनेको पहाड भूकम्पकै कारण भएको प्रमाणित भएको छ ।
महोत्तरीको बर्दिवासस्थित चुरे पहाड र त्यसको फेदीमा रहेका कैयौँ बस्तीको विकास भूकम्पकै कारण बस्न योग्य बनेका तथ्यहरूसमेत सार्वजनिक भएका छन् ।
अझ महोत्तरीको पाटु र गौरिडाँडाको विषय भने रोचक छ । विभिन्न समयमा आएका भूकम्पका कम्पन र परकम्पनहरूले समथल भूभागबाट ५० मिटरमाथि उठेर पहाड बनेको डा.सापकोटा बताउँछन् ।
बर्दिवासवाट २ किलोमिटर दुरीमा रहेको गौरीडाँडा भूकम्पकै कारण ४० मिटर उचाइमा बनेको डा.सापकोटा स्वयंले निष्कर्ष निकालेका छन् । त्यस्तै गौरीडाँडाबाट ३ किलोमिटर उत्तर पाटुको माथिल्लो क्षेत्र पनि भूकम्पकै कारण माथि उठेको विज्ञहरूको निष्कर्ष छ ।सिर खोला, लक्ष्मी खोला, भप्सी खोला लगायतका ठाउँहरूमा उत्खनन गरेर हेर्दा भूकम्पको छाप नै देखिएको थेसिसका अभिलेखहरूमा उल्लेख गरिएको छ । हुन त विश्वका अध्ययनहरूले पनि चुरेका शृंखलाहरू, हिमालयका शृंखलाहरू निर्माणमा भूकम्पलाई नै समष्टिगत कारणका रूपमा राखेका छन् । पूर्वमा बर्मादेखि पश्चिममा अफगानिस्तानसम्म करिब २ हजार ५०० किलोमिटर हिमालय शृंखला विगतमा गएका महाभूकम्पको समष्टिगत रूप भएको अध्यनहरूले दावी गरेका छन् ।
त्यसो हुँदा चुरे पहाडका शृंखलाहरू पनि यसैको परिणाम भएको र जोखिमका दृष्टिकोणले समेत संवेदनशील भएको भूगर्भविद सापकोटा बताउँछन् । भूकम्पको धस्साई करिब ३ हजार मिटर उच्च हिमालयको फेदभन्दा १५–२० किलोमिटर गहिराइबाट सुरू हुन्छ । यसलाई ‘हाइपोसेन्टर’ भनिन्छ डा.सापकोटाले भने । ‘त्यहाँबाट प्रवाह हुने भूकम्पको शक्ति दक्षिणतर्फ चुरेको फेदमा गई निष्कासन हुन्छ । भूकम्प केन्द्रबिन्दु भएको भागको उत्तरतर्फ जमिन धस्सिनु र दक्षिणतर्फको भाग माथि उठ्नुको कारण यही हो ।’
पुरातात्विक अन्तर्राष्ट्रिय रिसर्च सेन्टर बनाउन सकिन्छ
स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूबाट बाक्लै अध्यन भएको बर्दिवासको पाटु तथा चुरे क्षेत्र नेपालको नै विशिष्ट ठाउँ हो । जर्मन नागरिक गुड्रन कर्विन्सले सन् १९८५ मा पत्ता लगाएको पाटु सभ्यता झन् रोचक छ । उनले १० वर्ष लगाएर गरेको अध्यनपछि पाटु मानव सभ्यता १२ हजार वर्ष पुरानो भएको वैज्ञानिक प्रमाणित भएको थियो ।
शिवालिक पहाडको फेदीमा रहेको पाटुको सभ्यता मध्यपाषण युगको भएको र हतियार कारखानाको रूपमा रहेको कर्विन्सले निष्कर्ष निकालेकी थिइन् । तत्कालीन समयका मानिसहरूले प्रयोग गर्ने ढुंगे हतियारलाई कारखानाको रूपमा नै विकास गरेको उनको दावी छ ।जनवरी १९८५ मा पत्ता लगाएको यो ठाउँको विषयमा कर्विन्सले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल ः भोलम १, पपृष्ट २३९, सन् २००७) मा उल्लेख गरेकी छन् ।
यसरी एकातिर १२१५ देखिको भूकम्पको इतिहासले बनाएको भौगोलिक भू–बनावट र अर्कोतिर मध्यपाषण युगको हतियार कारखानाका प्रमाणित आधारहरूले एकीकृत पुरातात्विक पर्यटन केन्द्रको रूपमा विकास गर्न सकिने विज्ञहरूको सुझाव रहेको छ ।केहीसमय अगाडि पनि बर्दिबास नगरपालिकाले यो क्षेत्रको विषयमा थप अध्ययन गरेको थियो । पुरातत्व विभागका निर्देशक भास्कर ज्ञवाली र भारतीय पुरातत्वविद् मन्जित हजारियाले कर्विन्सको रिपोर्टमा नै आधारित भएर थप अध्ययन गर्दा तत्कालीन मानिसहरूले प्रयोग गर्ने १९ प्रकारका हतियारहरू रहेको पुष्टि भएको थियो ।नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा पाटु दक्षिण एसियाको नै सबैभन्दा ठुलो मानव सभ्यता भएको निष्कर्ष निकालिएको छ ।
सर्पको राजधानी भनेर चिनिन्छ
अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार बर्दिवासलाई सर्पको राजधानी भनेर चिनिन्छ । विभिन्न फ्रान्सेली वैज्ञानिकहरूले गौरीडाँडामा अध्ययन गर्दा जमिनमुनि हजाराँै सर्पहरू रहेको निष्कर्ष निकालेका थिए ।
अध्ययनको सिलसिलामा डा.सापकोटाले फ्रान्सेली वैज्ञानिकहरूले गरेको अध्ययनलाई पनि आफूले आधार बनाएको बताउँछन् । सर्प अध्ययनको दस्तावेजको खोजी गरी वैज्ञानिक ढंगले थप खोज अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
पुरातत्वविद प्रकाश दर्नाल बर्दिवासमा थुप्रै विषय अध्ययन भएको हुनाले यिनीहरूलाई एकीकृत गरी स्थानीय सरकारले नयाँ योजना बनाउनुपर्ने र पुरातात्विक पर्यटन तथा प्रकृति पार्ककोरूपमा विकास गर्नुपर्ने सुझाव दिन्छन् ।
समाजशास्त्री तथा मानवशास्त्रीहरूका लागिसमेत महत्वपूर्ण अध्ययन केन्द्र बन्ने भएकाले स्थानीय सरकारले गुरूयोजना बनाउनु पर्ने भूगर्भविद्का र पुरातत्वविद्हरूको भनाइ रहेको छ ।
गिद्ध अध्यन केन्द्र बनाउन सकिने महत्वपूर्ण आधार
पाटुभन्दा २ किलोमिटरमाथि गएपछि राईमण्डल पहाड पुगिन्छ । यही पहाडमा बस्ने हजारौँ गिद्धहरूको विषय पनि यहाँ उत्सुकताको विषय बनेको छ ।
तर महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाँडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।
बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमण्डल डाँडामा प्राकृतिक बासस्थान बनाएका हजारौँ गिद्धहरू आहाराको खोजीमा छन् भने जंगल क्षेत्रमा फ्याँकिएका विषाक्त मृत जनावरहरू खाएर मर्ने क्रमसमेत बढेको स्थानीयहरू बताउँछन् ।
राईमण्डल डाँडाको सेतो भिरमा अहिले पनि जुनसुकै समयमा ठुलो संख्या गिद्धहरू देख्न सकिन्छ । अझ बिहानको समयमा त आकाशभरी हजारौँ गिद्धहरू देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाइ छ । ‘३ प्रकारका गिद्धहरू आकाशमा बाक्लै देखिन्छन् । विशेषगरी सेतो भिर वरपर नै उनीहरूको बासस्थान छ,’ उनले भने ।
जंगल क्षेत्र सिन्धुली (बर्दिवास सडक खण्डमा कहिलेकाहीँ मरेको गाई–भंँसी फ्याँक्दा आहारका लागि बाक्लै संख्यामा जम्मा भए तापनि फरक–फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ ।
अध्ययनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ । राईमण्डलका स्थानीयहरूले बताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन्, जुन फरकफरक रूपरंगका छन् । यसलाई संरक्षण गरे अर्को महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने वातावरणविद्हरू बताउँछन् ।
वातावरणविद् छोटेलाल चौधरी गिद्धहरूलाई संरक्षण गरे विश्वको नै अध्ययन केन्द्र बनाउन सकिने बताउँछन् ।
जियोपार्क तथा नेचरपार्क बनाउन सकिन्छ
सोमबार बर्दिवासको विनायक होटलमा भूगर्भविद्का सोमनाथ सापकोटाले बर्दिवासलाई विश्वको नै महत्वपूर्ण जियोपार्क कसरी बनाउने भन्ने विषयहरूमा योजनाहरूको स्लाइड देखाए ।नेपालमा नै अहिलेसम्म यति धेरै अध्ययन भएको अन्य ठाउँ नभएको हुनाले बर्दिवासलाई नेपालको नै पहिलो जियोपार्क वा प्रकृति पार्क बनाउन सकिने उनले आफ्ना योजनाहरू प्रस्तुत गरे ।बर्दिवासलाई बृहत् अध्ययन केन्द्र तथा पुरातात्विक पर्यटन हव बनाउन वैज्ञानिकहरूको सम्मेलन नै गर्नुपर्ने सुझाव उनले अगाडि सारे ।
‘यहाँ फ्रान्सेली, जर्मनी लगायतका धेरै वैज्ञानिकहरूले अध्ययन गरेका छन्, तिनिहरूको प्रतिवेदन सहितको एउटा सम्मेलन नै गर्न सकिन्छ,’ उनले भने, ‘सबै अध्ययन र प्रतिवेदन एकीकृत गरी स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थी मात्र होइन अध्यनकर्ताहरूका लागि बृहत् अध्यन केन्द्र बनाउन सकिन्छ ।’




